AgriVet Sanchar

कृषि क्षेत्रमा नयाँ युग: जलवायु अनुकूलन डिजिटल नक्साको शुभारम्भ

काठमाडौं, १९ माघ — नेपालको कृषि तथा पशुपन्छी क्षेत्रलाई जलवायु परिवर्तनबाट पर्ने जोखिम कम गर्न उद्देश्यसहित तयार गरिएको ‘जलवायु अनुकूलन डिजिटल नक्सा’ सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा उक्त नक्सा औपचारिक रूपमा प्रस्तुत गरिएको हो।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले यो नक्सालाई नेपाली कृषि प्रणालीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले परम्परागत कृषि अभ्यासको संरक्षण र सुधारका लागि यो उपकरण निकै उपयोगी हुने उल्लेख गर्दै यसको प्रयोग किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउन सम्बन्धित निकायहरूलाई आग्रह गरे।

बोर्लाग इन्स्टिच्युट फर साउथ एसियाका क्षेत्रीय कार्यक्रम प्रमुख डा. प्रमोद अग्रवालले जलवायु परिवर्तनले विश्वभर कृषि क्षेत्रमा चुनौती बढाइरहेको सन्दर्भमा यस्तो डिजिटल नक्सा समयानुकूल र नविन पहल भएको टिप्पणी गरे। उनले नेपाल, भारत, बंगलादेश र श्रीलंकाका वैज्ञानिकहरूको सहकार्यमा नक्सा निर्माण गरिएको जानकारी पनि दिए।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. कृष्णप्रसाद तिम्सिनाले यो नक्साले जलवायु जोखिम मूल्याङ्कनमा आधारित नीति निर्माण गर्न मद्दत पुग्ने बताए। उनले यसलाई जलवायुमैत्री प्रविधि अपनाउने दिशामा महत्वपूर्ण कदमका रूपमा उल्लेख गरे।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्रमुख डा. तुलसी पौडेलका अनुसार, डिजिटल नक्साले कृषि योजना तयार पार्न, जोखिम विश्लेषणका आधारमा ऋण प्रवाह गर्न तथा शैक्षिक अनुसन्धानमा पनि सहयोग पुर्‍याउनेछ। साथै, राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले माटोको डिजिटल नक्सापछि आएको यो उपलब्धिले ‘डिजिटल नेपाल’ अभियानलाई बलियो बनाउने बताए।

कार्यक्रममा वैज्ञानिकहरू डा. रोशनबाबु ओझा र डा. विवेक सापकोटाले नक्साको सञ्चालन विधि र प्रयोगात्मक पक्षबारे प्रस्तुति दिएका थिए। यस नक्साले किसानलाई बालीनाली र पशुपन्छीमा पर्ने जलवायुजन्य जोखिम पहिचान गर्न र त्यसको प्रभाव मूल्याङ्कन गर्न उपयोगी हुने विश्वास गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.