बर्दिया। बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व झन् गम्भीर बन्दै गएको छ। चितुवाको आक्रमणका कारण गत माघ २२ गते एकै दिन दुई जनाको ज्यान गएको घटनाले स्थानीय बासिन्दामा भय र त्रास बढाएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका–९ की ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४ का ३५ वर्षीय नन्दु रोकाय रहेका छन्।
प्रहरी तथा स्थानीय स्रोतका अनुसार, मैसरा डाँगी सीमावर्ती क्षेत्र नजिक आफ्नै खेतबारीमा घाँस काटिरहेका बेला अचानक चितुवाले आक्रमण गरेको थियो। आक्रमणपछि चितुवाले उनलाई भारतीय वन क्षेत्रतर्फ तानेर लगेको बताइएको छ। केही समयपछि उनको शव दशगजा क्षेत्र नजिक फेला परेको प्रहरीले जनाएको छ ,भने घटनास्थल सीमावर्ती भएकाले खोजी तथा उद्धार कार्यमा समेत चुनौती आएको स्थानीय अधिकारीहरूले बताएका छन्।
त्यसैगरी, नन्दु रोकाय बबई नदी पार गरेर सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला चितुवाको आक्रमणमा परेका थिए। उनीसँग चार जना अन्य साथीहरू पनि वनमा पुगेका थिए, तर अचानक भएको आक्रमणका कारण उनलाई बचाउन नसकिएको बताइएको छ। रोकाय करिब १२ दिनअघि मात्रै भारतबाट घर फर्किएको र पुनः रोजगारी तथा पारिवारिक कामका लागि गाउँमै बस्दै आएको जानकारी स्थानीयले दिएका छन्।
यो घटना माघ महिनामा बारबर्दिया नगरपालिका–११ क्षेत्रमा चितुवाको आक्रमणबाट तीन जनाको मृत्यु भइसकेको सन्दर्भमा थप चिन्ताजनक बनेको छ। पछिल्लो समय बर्दियामा मात्र होइन, तराईका विभिन्न जिल्लामा पनि चितुवा, पाटेबाघ र जंगली हात्तीबाट हुने आक्रमणका घटनाहरू निरन्तर बढ्दै गएका छन्। वन्यजन्तुको बासस्थान मानव बस्ती नजिकिँदै जानु, वन क्षेत्रको घट्दो अवस्था, तथा मानव गतिविधि वनभित्र बढ्नुले यस्तो द्वन्द्व बढाएको विज्ञहरूको भनाइ छ।
डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, साउन महिनादेखि हालसम्म बर्दियामा चितुवाको आक्रमणबाट सात जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै, पाटेबाघको आक्रमणबाट एक जना र जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको कार्यालयले जनाएको छ।
स्थानीय बासिन्दाहरूले वन्यजन्तु आक्रमण रोकथामका लागि प्रभावकारी उपाय अपनाउन सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार, वन क्षेत्रमा सुरक्षाको व्यवस्था, जनचेतना कार्यक्रम, तथा जोखिम क्षेत्रमा निगरानी प्रणाली विस्तार नगरेसम्म यस्ता दुःखद घटनाहरू दोहोरिरहने खतरा छ।