AgriVet Sanchar

चितवनमा जङ्गली जनावरको आक्रमण:एकै वर्षमा पाँच जनाले ज्यान गुमाए

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा जङ्गली जनावरसँगको द्वन्द्व अझै चुनौतीपूर्ण बनेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा हात्ती, गैंडा र बाघको आक्रमणका कारण पाँच जनाले ज्यान गुमाएका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार सबैभन्दा बढी तीन जनाको मृत्यु गैंडाको आक्रमणबाट भएको हो। यस्तै, हात्तीको आक्रमणमा दुई जनाले ज्यान गुमाए भने बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको तथ्यांक निकुञ्जले सार्वजनिक गरेको छ।

मृतकमध्ये तीन जना भरतपुर महानगरपालिकाका, एक जना खैरहनी नगरपालिकाका र अर्का एक जना माडी नगरपालिकाका बासिन्दा रहेका छन्।

पछिल्ला वर्षका तथ्यांक हेर्दा जङ्गली जनावरको आक्रमणबाट हुने मानवीय क्षतिमा केही कमी आएको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ मा यस्ता घटनामा १३ जनाले ज्यान गुमाएका थिए भने २०८०/८१ मा मृतकको संख्या ११ पुगेको थियो।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र चितवनसँगै नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), पर्सा र मकवानपुर जिल्लासम्म फैलिएको छ। यसमध्ये मध्यवर्ती क्षेत्रको ठूलो हिस्सा चितवनमा पर्ने भएकाले यहाँका स्थानीय बासिन्दा जङ्गली जनावरको जोखिममा तुलनात्मक रूपमा बढी पर्ने गरेका छन्।

वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई नेपाल सरकारले प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने व्यवस्था लागू गर्दै आएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.