AgriVet Sanchar

रुखको सदुपयोग गर्दै ब्रान्डेड फर्निचर उद्योग विकास गर्न सांसद सागर ढकालको प्रस्ताव

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले नेपालको वन सम्पदालाई प्रभावकारी रूपमा उपयोग गरी काठमा आधारित विश्वस्तरीय फर्निचर उद्योग स्थापना गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार प्राकृतिक स्रोतको उचित व्यवस्थापन र मूल्य अभिवृद्धि उद्योगको विकासले नेपाललाई आर्थिक रूपमा बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

ढकालले नेपालमा प्रशस्त वन क्षेत्र र गुणस्तरीय काठ उपलब्ध हुँदाहुँदै पनि ठूलो परिमाणमा फर्निचर आयात भइरहनु विडम्बनापूर्ण अवस्था भएको बताए। उनले कच्चा स्रोत निर्यात गर्ने वा प्रयोगविहीन छाड्नेभन्दा स्वदेशमै प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने ब्रान्ड निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले मलेसियाजस्ता मुलुकले काठ उद्योगमार्फत विश्व बजारमा उल्लेखनीय सफलता हासिल गरेको उदाहरण दिँदै, त्यही उद्योगमा हजारौं नेपाली श्रमिक न्यून पारिश्रमिकमा काम गरिरहेको उल्लेख गरे। नेपालले आफ्नै स्रोतबाट उत्पादन बढाउन सके रोजगारी सिर्जना हुनुका साथै विदेशबाट फर्निचर आयातमा हुने खर्च पनि उल्लेखनीय रूपमा घट्ने उनको भनाइ थियो।

सांसद ढकालले वन व्यवस्थापनलाई वैज्ञानिक र दिगो बनाउनुपर्नेमा जोड दिँदै, परिपक्व भइसकेका रुख नियमनसहित उपयोग गर्न र त्यसको सट्टा नयाँ बिरुवा रोप्ने नीति अपनाउन सुझाव दिए। यसले वन संरक्षण र आर्थिक गतिविधि दुवैलाई सन्तुलित रूपमा अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

कृषि क्षेत्रमा देखिएको बाँदरको समस्याबारे पनि उनले समाधानको उपाय प्रस्तुत गरे। जंगलभित्र बाँदरलाई आकर्षित गर्ने फलफूलका बिरुवा रोपेर वनमै पर्याप्त आहारको व्यवस्था गर्न सके वन्यजन्तु खेतीयोग्य जमिनतर्फ कम आकर्षित हुने र किसानले निर्धक्क खेती गर्न सक्ने वातावरण बन्ने उनले बताए।

ढकालका अनुसार वन, उद्योग र कृषि नीतिबीच समन्वय गर्दै काठमा आधारित मूल्य अभिवृद्धि उद्योग, दिगो वन व्यवस्थापन र कृषकमैत्री कार्यक्रम लागू गर्न सके नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिन सकिनेछ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.