AgriVet Sanchar

मनसुन सुरुभए सँगै चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारीमा रोक

चितवन। वर्षा सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकका लागि एउटा महत्त्वपूर्ण परिवर्तन आएको छ। निकुञ्ज प्रशासनले बुधबारदेखि निकुञ्जभित्र सञ्चालन हुँदै आएको जंगल सफारी सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

निकुञ्जका अनुसार वर्षायाममा जंगलको अवस्था सुरक्षित र सहज रहँदैन। लगातारको वर्षाले खोलानाला एक्कासि बढ्ने, कच्ची वनमार्ग हिलाम्मे भएर बिग्रिने, कतिपय स्थानमा रुख ढलेर बाटो नै बन्द हुने जोखिम बढ्ने भएकाले सफारी सञ्चालन गर्न उपयुक्त नहुने निष्कर्ष निकालिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले वर्षाको मौसम वन्यजन्तु तथा चराचुरुङ्गीका लागि प्रजननको संवेदनशील समय पनि भएकाले उनीहरूको प्राकृतिक गतिविधिमा अनावश्यक असर नपरोस् भन्ने उद्देश्यले समेत सफारी रोकिएको जानकारी दिएका छन्।

चितवन राष्ट्रिय निकुञ्जले हरेक वर्ष मनसुनको समयमा यस्तै व्यवस्था लागू गर्दै आएको छ। मौसम अनुकूल बन्दै गएपछि, विशेषगरी दसैँ आसपासदेखि पुनः सफारी सेवा सञ्चालन गर्ने अभ्यास रहँदै आएको छ।

यद्यपि, निकुञ्जभित्रको सफारी रोकिए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने नियमित रूपमा जारी रहने जनाइएको छ।

सामान्य अवस्थामा सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न प्रवेशद्वारबाट दैनिक रूपमा पर्यटक बोकेका जीपहरू निकुञ्ज प्रवेश गर्ने गर्छन्। दुर्लभ वन्यजन्तु, हरियाली जंगल र प्राकृतिक सौन्दर्यको अनुभव लिन आउने आन्तरिक तथा विदेशी पर्यटकका लागि जीप सफारी प्रमुख आकर्षणमध्ये एक मानिन्छ। अब भने उनीहरूले केही समयका लागि वैकल्पिक गन्तव्य वा सामुदायिक वनका सफारी रोज्नुपर्ने अवस्था बनेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.