खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन बढाउने र व्यावसायिक मौरीपालनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ५० प्रतिशत अनुदानमा मौरीसहितका घार वितरण गरेको छ। यस पहलले विशेषगरी साना तथा मझौला कृषकलाई लक्षित गर्दै उनीहरूको आर्थिक सशक्तीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा ९० वटा मौरीसहितका घार कृषक समूह तथा व्यक्तिगत कृषकलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा नगरप्रमुख महेश थपलियाले घार वितरण गर्दै मौरीपालनलाई केवल वैकल्पिक पेशा नभई दिगो आम्दानीको मुख्य स्रोतका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित आगामी वर्षहरूमा पनि यस्ता उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे।
नगरपालिकाको मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रतिघार १० हजार ८ सय रुपैयाँ लागतमा मौरीसहितका घार उपलब्ध गराइएको छ, जसमा कृषकले आधा रकम मात्र व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। बाँकी ५० प्रतिशत रकम नगरपालिकाले अनुदानस्वरूप बेहोरेको छ।
घार प्राप्त गरेपछि कृषकहरूमा उत्साह थपिएको छ। मौरीपालनले मह उत्पादनमार्फत प्रत्यक्ष आम्दानी दिने मात्र होइन, बालीमा परागसेचन वृद्धि गरी कृषि उत्पादन बढाउन समेत सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ। यस पहलले स्थानीय कृषि प्रणालीलाई थप सुदृढ बनाउने र ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।