कैलालीमा कृषि क्षेत्रलाई आधुनिक बनाउने उद्देश्यले प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिइएको छ। कृषि तथा पशुपक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले प्रविधि अपनाउँदा खेतीपातीको लागत घट्ने र उत्पादनसँगै किसानको आम्दानी पनि बढ्ने बताएका छन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइले जानकी गाउँपालिका–४ मुनुवामा आयोजना गरेको आधुनिक मेसिनमार्फत् चैते धान रोपाइँ कार्यक्रम उद्घाटन गर्दै मन्त्री परियारले अहिले पनि धेरै ठाउँमा परम्परागत तरिकाले खेती भइरहेकोले लागत खर्च बढिरहेको बताए। उनले नयाँ प्रविधि र मेसिनको प्रयोग बढाएमा उत्पादन वृद्धि हुनुका साथै बजार व्यवस्थापन पनि सहज हुने उल्लेख गरे।
कार्यक्रमअन्तर्गत धान रोप्ने आधुनिक मेसिन ‘बिज वृद्धि किसान सहकारी संस्था’लाई उपलब्ध गराइएको छ। पछिल्ला केही वर्षदेखि कैलालीका जोशीपुर, भजनी र जानकी क्षेत्रहरूमा चैते धान खेतीको क्षेत्र विस्तार हुँदै गएको छ। वर्षायाममा आउने बाढी र डुवानको समस्या टार्न किसानहरूले पानीको जोखिम कम हुने चैत, वैशाख र जेठ महिनामा चैते धान खेती गर्न थालेको स्थानीय किसानहरूले बताएका छन्।