AgriVet Sanchar

जुम्लाको अर्गानिक आलु: उत्पादन प्रशस्त, आम्दानी सीमित

कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला जुम्ला अर्गानिक आलु उत्पादनका लागि देशभर परिचित छ। यहाँको माटो, हावापानी र परम्परागत खेती प्रणालीले उत्पादन हुने आलुलाई स्वाद, गुणस्तर र पोषणका दृष्टिले विशेष बनाएको छ। तर यही सम्भावनाले भरिएको उत्पादन अझै किसानको आर्थिक समृद्धिमा रूपान्तरण हुन सकेको छैन।

गुठीचौर गाउँपालिका–१ का किसान गोरबहादुर बस्नेतका लागि आलु खेती नै परिवारको मुख्य जीविकोपार्जनको आधार हो। वर्षेनी करिब ५० क्विन्टल आलु उत्पादन गर्ने उनी आफ्नै मात्र होइन, छिमेकी किसानको उत्पादन पनि संकलन गरेर बजारसम्म पुर्‍याउँछन्। तर उत्पादन बढे पनि आम्दानी अपेक्षाअनुसार हुन सकेको छैन।

“गाउँमै आलु सस्तोमा बेच्नुपर्छ, बजार टाढा छ,” बस्नेत भन्छन्, “मेहनत धेरै छ, तर मूल्य पाइँदैन।” उनका अनुसार गाउँमै प्रतिकेजी १५ देखि २० रुपैयाँमा बिक्री हुने आलु सदरमुकाम खलंगा पुग्दा करिब दोब्बर मूल्यमा कारोबार हुन्छ। तर यातायातको कठिनाइ, मौसमको अनिश्चितता र बिचौलियाको प्रभावका कारण किसानको हातमा पर्ने आम्दानी न्यून नै रहन्छ।

पातारासी गाउँपालिका–६ की रूपा खड्काको अनुभव पनि फरक छैन। सात रोपनी जमिनमा आलु खेती गर्दै आएकी उनी वर्षमा एक सय क्विन्टलसम्म उत्पादन गर्छिन्। परिवारको मुख्य आयस्रोत यही भए पनि बजार पहुँचको अभावले उनलाई उचित मूल्य पाउन कठिन भएको छ।

“उत्पादन राम्रो हुन्छ, तर बजार व्यवस्थित छैन,” उनी भन्छिन्, “यदि संकलन केन्द्र र सहज बजार व्यवस्था हुन्थ्यो भने किसानको जीवनस्तर नै बदलिन्थ्यो।”

पहिले भण्डारणको अभावमा खाडलमा राखिएको आलु कुहिने समस्या सामान्य थियो। अहिले केही सुधार देखिए पनि पर्याप्त भण्डारण संरचना, चिस्यान नियन्त्रण प्रविधि र ढुवानी सुविधा अझै अभावमै छन्। जसले गर्दा उत्पादनको ठूलो हिस्सा अझै पनि जोखिममा पर्ने गरेको छ।

स्थानीय तहको तथ्यांकअनुसार जुम्लाबाट प्रत्येक वर्ष हजारौं मेट्रिक टन आलु जिल्लाबाहिर निकासी हुन्छ। कालीकोट, मुगु, जाजरकोटदेखि सुर्खेत र नेपालगन्जसम्म जुम्लाको आलु पुग्ने गरेको छ। माग उच्च भए पनि मूल्य निर्धारण प्रणाली स्पष्ट नहुँदा किसान प्रत्यक्ष लाभ लिन सकिरहेका छैनन्।

गत वर्ष जिल्लामा दुई हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो, जसबाट झण्डै ४० हजार मेट्रिक टन उत्पादन भएको थियो। यसले करोडौं रुपैयाँ बराबरको आर्थिक गतिविधि सिर्जना गरे पनि त्यसको प्रत्यक्ष लाभ किसानसम्म समान रूपमा पुगेको छैन।

जुम्लामा उत्पादन हुने ‘जुम्ली लोकल’, ‘महत’, ‘खुमल सेतो’, ‘खुमल रातो’, ‘डेजिरे’, ‘जनकदेव’ र ‘कुफ्रिज्योति’ जस्ता जातका आलु विशेष लोकप्रिय छन्। विषादीरहित उत्पादन भएकाले यहाँको आलु अर्गानिक मानिन्छ, जसको बजारमा माग स्थिर रूपमा बढ्दो छ।

कृषि विज्ञहरूका अनुसार जुम्लाको आलु खेतीलाई व्यावसायिक र दिगो बनाउन मूल्य शृंखला सुदृढीकरण अपरिहार्य छ। “भण्डारण, प्रशोधन र बजार व्यवस्थापनमा लगानी बढाउनुपर्छ,” उनीहरू सुझाउँछन्, “किसानलाई प्रत्यक्ष बजारसँग जोड्ने हो भने मात्र उत्पादनको वास्तविक मूल्य प्राप्त हुन्छ।”

सम्भावनाले भरिएको जुम्लाको अर्गानिक आलु अहिले पहिचानको चरण पार गरिसकेको छ। अब आवश्यकता छ—उत्पादनलाई समृद्धिको माध्यम बनाउने प्रभावकारी संरचना र नीतिगत हस्तक्षेपको।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.