भक्तपुर, जेठ १३ — धान रोपाइँको सिजन सुरु हुन लाग्दा ताथली का किसानले रासायनिक मल अभावको समस्या गम्भीर बनेको बताएका छन्। मंगलबार वडा तहमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय कृषकहरूले खेतीको मुख्य समयमा समेत पर्याप्त मल नपाएको भन्दै चिन्ता र असन्तुष्टि व्यक्त गरेका हुन्।
कार्यक्रममा सहभागी स्थानीय किसानहरूले सहकारीमार्फत मल वितरण भइरहेको भए पनि आवश्यक परिमाण उपलब्ध नभएको बताए। उनीहरूका अनुसार एउटा परिवारले अधिकतम पाँच किलोसम्म मात्रै मल पाउने व्यवस्था छ, त्यसका लागि पनि बिहानैदेखि लाइन बस्नुपर्ने अवस्था रहेको छ।
कृषकहरूका अनुसार दिनभरि पालो कुर्दा पनि सबैले मल पाउने सुनिश्चितता हुँदैन। पाएको मल पनि खेतको आवश्यकताअनुसार पर्याप्त नहुने उनीहरूको भनाइ छ। समयमै मल उपलब्ध नभए धान तथा तरकारी खेतीको उत्पादनमा असर पर्ने भन्दै किसानहरू चिन्तित बनेका छन्।
स्थानीयले हरेक वर्ष खेतीको व्यस्त समयमा उस्तै समस्या दोहोरिने गरेको उल्लेख गर्दै सरकारी निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले मल आपूर्ति सहज बनाउन, वितरण प्रणाली व्यवस्थित गर्न र कालोबजारी नियन्त्रणमा कडाइ गर्न माग गरेका छन्।
कार्यक्रममा सहभागी अर्का स्थानीय भानुभक्त पराजुली ले कृषि सडकको अवस्था कमजोर हुँदा खेतमा उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन कठिन भइरहेको बताए। उनका अनुसार सडकमा ग्राभेल नभएकाले ट्र्याक्टर तथा अन्य सवारी चल्न नसक्दा किसानले आफैं बोकेर उत्पादन ल्याउनुपर्ने बाध्यता छ, जसले लागत बढाएको छ।
वडा अध्यक्ष गणेश त्यात ले किसानका समस्या वास्तविक रहेको स्वीकार गर्दै मल अभाव आफूहरूले पनि नजिकबाट भोगिरहेको बताए। उनले दीर्घकालीन समाधानका लागि देशमै मल उत्पादन गर्ने व्यवस्था आवश्यक रहेको धारणा राखे। साथै स्थानीयले उठाएका अन्य पूर्वाधार र कृषि सम्बन्धी विषयमा पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।