जनकपुरधाम, चैत २५ — मधेस प्रदेश कृषि विकास निर्देशनालयले यस वर्ष आँप उत्पादन अपेक्षाअनुसार नहुने संकेत गरेको छ। आँपका बोटमा देखिएको ‘मधुवा रोग’ र समयमै वर्षा नहुनुका साथै आएको हावाहुरीका कारण उत्पादनमा असर पर्ने देखिएको हो।
निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभर आँपका रुखमा अत्यधिक मात्रामा मजर (फूल) लागेको थियो, जसले उत्पादन वृद्धि हुने आशा गरिएको थियो। तर रोगको प्रकोपले उक्त सम्भावनामा कमी ल्याएको छ। निर्देशनालयका अधिकृत सन्दीप ठाकुरले रोगका कारण अनुमानित उत्पादन लक्ष्य हासिल गर्न कठिन हुने बताएका छन्।
यस वर्ष मधेस प्रदेशका आठै जिल्लामा करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ। अनुकूल मौसम रहेमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको थियो।
धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला प्रदेशका प्रमुख आँप उत्पादन क्षेत्रका रूपमा चिनिन्छन्। व्यावसायिक रूपमा आँपखेती विस्तार हुँदै गएको मधेस प्रदेशले देशको कुल उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्दै आएको छ।
गत आर्थिक वर्षमा प्रदेशमा ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको थियो, जसबाट तीन लाख ९५ हजार ९६२ मेट्रिक टन उत्पादन भएको थियो।
प्रदेशमा मालदह, बम्बै, कलकत्तिया, आम्रपाली, दशहरीसहित नकुअवा, केरवा, विजु र सिपिया जातका आँपहरू व्यावसायिक रूपमा उत्पादन हुँदै आएका छन्।
उता, विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आर्थिक वर्षको फागुनदेखि चालु वर्षको कात्तिकसम्म भारतबाट ३५९ मेट्रिक टन आँप आयात गरिएको थियो, जसको मूल्य करिब दुई करोड १५ लाख रुपैयाँ रहेको छ।
कृषि मन्त्रालयका तथ्यांकअनुसार हाल नेपालभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको छ।