AgriVet Sanchar

चामल उद्योगीले मन्त्रीलाई ढाँटे :मूल्य घटाउने वाचा कहाँ हरायो?

काठमाडौं, १४ असोज । दसैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा उपभोक्तालाई राहत दिने भन्दै चामलको मूल्य घटाउने घोषणा गरिएको थियो । तर, उद्योगीहरूले सरकारसँग गरेको प्रतिबद्धता दुई साता बितिसक्दा पनि बजारमा कार्यान्वयन भएको देखिएको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योगमन्त्री दीपककुमार साहको उपस्थितिमा भएको छलफलमा चामल उद्योगीहरूले २५ किलोको बोरामा ७५ रुपैयाँदेखि १ सय २५ रुपैयाँसम्म मूल्य घटाउने बताएका थिए । केही प्रकारका चामलमा २ सय रुपैयाँसम्म मूल्य समायोजन गर्ने प्रतिबद्धता समेत जनाइएको थियो ।

तर, खुद्रा बजारमा भने उपभोक्ताले अझै पुरानै मूल्य तिर्नुपरेको व्यापारीहरूको गुनासो छ । उद्योग र होलसेलबाट चामल घटेको मूल्यमा नआएको उनीहरूको भनाइ छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार उद्योगीहरूले मन्त्रालयमा मूल्य घटाउने प्रतिबद्धता जनाए पनि त्यसअनुसार बजारमा सामान पठाएका छैनन् ।

‘उद्योगीहरूले मन्त्रीसामु मूल्य घटाउने भनेका थिए । तर, हामीलाई अहिलेसम्म पुरानै मूल्यमा चामल दिइरहेका छन्,’ बज्राचार्यले बताएका छन् ।

उनका अनुसार उद्योगीहरूले चामलको अधिकतम खुद्रा मूल्य (एमआरपी) समेत आफूअनुकूल राख्ने गरेका छन् । उद्योगबाट महँगो मूल्यमा खरिद गर्नुपर्ने अवस्थामा खुद्रा व्यापारीले आफूखुसी मूल्य घटाएर बेच्न नसक्ने उनको भनाइ छ ।

चामलको मूल्य असारदेखि नै बढ्न थालेको थियो । उद्योगीहरूले भारतमा धानको मूल्य बढेको र भारत सरकारले निर्यातमा कडाइ गरेको भन्दै मूल्य बढाएका थिए । त्यसपछि भदौमा बाढी र पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक भासिएपछि काठमाडौं आउने मुख्य ढुवानी मार्ग प्रभावित भयो ।

ढुवानीमा समस्या आएपछि चामलको मूल्य थप बढेको थियो । असारदेखि भदौ अन्तिमसम्म २५ किलोको बोरामा ४ सयदेखि ५ सय रुपैयाँसम्म मूल्य बढेको व्यापारीहरूको भनाइ छ ।

त्यतिबेला २ हजारदेखि २ हजार ३ सय रुपैयाँसम्ममा पाइने जिरा मसिनो चामलको मूल्य बढेर २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो । सोना मन्सुली चामलको मूल्य पनि १ हजार ३ सय ५० रुपैयाँबाट बढेर १ हजार ७ सय ५० रुपैयाँसम्म पुगेको थियो ।

कृष्णभिरको सडक करिब १८ दिनपछि सञ्चालनमा आएपछि ढुवानी खर्च भने घटेको थियो । यसअघि प्रतिकिलो करिब साढे ७ रुपैयाँसम्म रहेको ढुवानी खर्च घटेर ४ रुपैयाँ आसपास पुगेको थियो ।

ढुवानी लागत घटेपछि मन्त्रालयले उद्योगीहरूसँग छलफल गरेको थियो । त्यस क्रममा नेपाल चामल, तेल, दाल उद्योग संघका प्रतिनिधिहरूले लागत घटेकै अनुपातमा चामलको मूल्य घटाउने बताएका थिए ।

संघका कार्यालय सचिव अजय पराजुलीले त्यसबेला २५ किलोको बोरामा ढुवानी खर्च मात्रै करिब ७५ रुपैयाँले घटेकाले चामलको मूल्य पनि सोहीअनुसार समायोजन गर्ने बताएका थिए ।

उद्योगीहरूले २ हजार ५ सय ७५ रुपैयाँ पर्ने जिरा मसिनो चामल २ हजार ४ सय ७५ रुपैयाँ र १ हजार ७ सय २५ रुपैयाँ पर्ने सोना मन्सुली १ हजार ६ सय २५ रुपैयाँमा बिक्री गर्ने दाबी गरेका थिए ।

तर, बजारमा भने ती मूल्य लागू भएको छैन ।

नेपाल चामल, तेल, दाल उद्योग संघका सदस्य विभोर अग्रवालले भने उद्योगीहरूले मूल्य घटाएरै चामल पठाइरहेको दाबी गरेका छन् । उनका अनुसार बाटो बन्द हुँदा २५ किलोको चामल २ हजार ५ सय ७५ रुपैयाँमा बिक्री भइरहेकोमा अहिले आफ्नो कम्पनीले २ हजार ४ सय ५० रुपैयाँभन्दा बढीमा बिक्री गरेको छैन ।

बजारमा देखिएको महँगो मूल्यका विषयमा भने सरकारले नै अनुगमन गर्नुपर्ने उनको भनाइ छ । अग्रवालले विभिन्न उद्योगले फरक–फरक एमआरपी राखेका कारण पनि बजारमा मूल्य फरक देखिएको हुन सक्ने बताए ।

तर, खुद्रा व्यापारीहरूका अनुसार उद्योगी तथा डिलरले अहिले पनि चामलको मूल्य घटाएका छैनन् । उनीहरूले नयाँ धान बजारमा आएपछि मात्रै मूल्य घट्न सक्ने जवाफ दिने गरेको व्यापारीहरूको भनाइ छ ।

नयाँ बानेश्वरका एक किराना व्यवसायीका अनुसार उद्योगबाट आउने बिलमा मूल्य घटेको छैन । ‘समाचारमा चामलको मूल्य घट्यो भनेर आउँछ । तर, हामीलाई फ्याक्ट्रीबाट एक रुपैयाँ पनि घटेर आएको छैन,’ उनले भने ।

उनका अनुसार उद्योगी तथा डिलरलाई मूल्य घट्ने समयबारे सोध्दा मंसिरमा नयाँ धान आएपछि मात्रै मूल्य घट्न सक्ने जवाफ दिने गरिएको छ ।

यसबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि बजारमा चामलको मूल्य अपेक्षाअनुसार घटेको नपाइएको जनाएको छ ।

विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार उद्योगीहरूसँग यस विषयमा दुई पटक छलफल भए पनि उनीहरूले बजारमा रहेको पुरानो स्टकको कारण तत्काल मूल्य घटाउन नसक्ने बताएका छन् ।

उद्योगीहरूले पुरानो स्टक बिक्री भइसकेपछि नयाँ स्टकमा एमआरपी घटाउने बताएको विभागको भनाइ छ । विभागले भने पुरानो स्टक भए पनि उपभोक्तालाई राहत हुने गरी मूल्य समायोजन गर्न उद्योगीहरूलाई आग्रह गरेको जनाएको छ ।

सरकारसँग मूल्य घटाउने प्रतिबद्धता जनाइए पनि बजारमा त्यसको प्रभाव नदेखिएपछि चाडपर्वको मुखमा उपभोक्ताले महँगो चामल किन्नुपर्ने अवस्था कायमै छ । उद्योगीको दाबी, खुद्रा व्यापारीको गुनासो र सरकारी अनुगमनबीच देखिएको फरक अवस्थाले चामलको वास्तविक मूल्य निर्धारण र बजार अनुगमनमाथि समेत प्रश्न उठाएको छ ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.