काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र भैरहवाका कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा उद्योग सञ्चालनका क्रममा देखिएका समस्या र चुनौतीबारे छलफल भएको छ।
भैरहवास्थित एनएआरसीको कार्यालयमा आयोजित छलफलमा कृषि उत्पादनको व्यावसायीकरण, कृषि उपजको प्रशोधन तथा बजारीकरण, स्वदेशी उत्पादनको प्रवर्द्धन र कृषि क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा उद्योगी–व्यवसायीहरूले उद्योग सञ्चालनका क्रममा भोग्दै आएका विभिन्न व्यावहारिक समस्या मन्त्रालयसमक्ष राखेका थिए। उनीहरूले कच्चा पदार्थको सहज उपलब्धता, उत्पादन लागत, बजार व्यवस्थापन, सरकारी सहजीकरण तथा कृषि उद्योगलाई थप प्रोत्साहन गर्न आवश्यक नीतिगत सुधारका विषयमा आफ्ना सुझाव दिएका थिए।
उद्योगी–व्यवसायीका समस्या र सुझाव सुनेपछि मन्त्री गीता चौधरीले कृषि क्षेत्रलाई उत्पादनमुखी, आत्मनिर्भर र औद्योगिक रूपमा सक्षम बनाउन सरकार, किसान र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताइन्।
उनले कृषि उत्पादनलाई उद्योगसँग जोडेर त्यसबाट मूल्य अभिवृद्धि गर्न सके रोजगारी सिर्जना हुनुका साथै स्वदेशी उत्पादनको बजारसमेत विस्तार गर्न सकिने बताइन्। कृषि उद्योगको विकासले किसानको उत्पादनलाई बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
मन्त्री चौधरीले उद्योगी–व्यवसायीले उठाएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने प्रतिबद्धता जनाइन्।
छलफलको समापन गर्दै उनले कृषि क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रसँगको सहकार्य र संवादलाई निरन्तरता दिने बताइन्। कृषि उद्योगको विस्तारमार्फत किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउने वातावरण निर्माण गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।