मुस्ताङ । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएपछि मुस्ताङका स्याउ किसान ठूलो समस्यामा परेका छन्। स्याउ टिप्ने र बजार पठाउने मुख्य समयमै सडक बन्द हुँदा बगैंचामा पाकेका फल झर्न थालेका छन् भने टिपेर राखिएका स्याउसमेत बिग्रने अवस्थामा पुगेका छन्।
दसैंको व्यापारिक सिजन सुरु भइसके पनि सडक अवरुद्ध भएको एक साता बितिसक्दा मुस्ताङमा उत्पादित स्याउको ठूलो हिस्सा अझै बजारसम्म पुग्न सकेको छैन। जिल्लाका पाँचवटै स्थानीय तहमा स्याउ टिप्ने काम चलिरहेको भए पनि कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी स्याउ बजार पठाउन बाँकी रहेको किसानहरू बताउँछन्।
सडक नखुलेपछि किसान र स्याउ व्यवसायीहरूको टोली सोमबार जिल्ला प्रशासन कार्यालय पुगेको थियो। पाँचवटै स्थानीय तहका करिब तीन दर्जन किसान तथा व्यापारीले प्रमुख जिल्ला अधिकारी अजिता शर्मासँग भेट गरी सडक तत्काल सञ्चालनमा ल्याउन पहल गरिदिन आग्रह गरेका छन्।
थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको आईपीएम एप्पल फार्मका सञ्चालक नीरज तुलाचनका लागि अहिलेको अवस्था निकै तनावपूर्ण छ। बगैंचामा पाकेको स्याउ टिप्नुपर्ने समय भए पनि टिपेपछि राख्ने ठाउँ छैन। बजार लैजान खोज्दा सडक बन्द छ।
“स्याउ टिपेर कहाँ राख्ने भन्ने समस्या छ। नटिप्दा बोटमै झर्न र बिग्रन थालेको छ। वर्षभरि गरेको लगानी र मेहनत खेर जाने डर छ,” तुलाचनले बताए।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका किसान कान्छा गुरुङका अनुसार तीजअघि केही मात्रामा स्याउ बजार पठाइएको थियो। त्यसपछि भने अधिकांश उत्पादन बगैंचामै रोकिएको छ।
उनले सडक लामो समय बन्द हुँदा अर्को समस्या पनि थपिन सक्ने बताए। सडक खुलेपछि रोकिएको सबै स्याउ एकैपटक बजारमा पुग्दा आपूर्ति बढेर मूल्य घट्न सक्ने उनको चिन्ता छ।
घरपझोङ गाउँपालिका–५ ढुम्बाका किसान योन्तेन गुरुङको अवस्था पनि उस्तै छ। उनले टिपेर तयारी अवस्थामा राखिएका करिब पाँच ट्रक स्याउ सडक अवरोध र विद्युत्को अनियमितताका कारण ढुवानी गर्न नसकिएको बताए। समयमै बजार पुर्याउन नसकिए ती स्याउसमेत बिग्रने जोखिम रहेको उनको भनाइ छ।
किसानहरूले सडक अवरोधले स्याउ उत्पादनमा मात्र नभई मुस्ताङको समग्र पर्यटन र कृषि व्यवसायमा असर परेको बताएका छन्। उनीहरूले सडक सञ्चालनका लागि उपलब्ध सबै सरकारी संयन्त्र र स्रोतसाधन परिचालन गर्न माग गरेका छन्।
तिरीकै किसान नर्वु गुरुङले बगैंचामा पाकेर झरेका परम्परागत जातका स्याउका तस्बिरसमेत प्रमुख जिल्ला अधिकारीलाई देखाएका थिए। उनका अनुसार बजारमा पठाउन नपाउँदा किसानको आँखै अगाडि उत्पादन नष्ट भइरहेको छ।
किसानहरूको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी अजिता शर्माले प्राकृतिक विपत्तिका कारण सडकखण्डमा ठूलो क्षति पुगेको बताइन्। सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको र आवश्यक मेसिन, उपकरण तथा जनशक्ति परिचालन गरिएको उनले जानकारी दिइन्।
तर, सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने देखिएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दी खण्डमा अन्य ठाउँको तुलनामा बढी क्षति भएकाले मर्मतमा समय लागेको हो। मालढुङ्गादेखि कोरलासम्म धेरैजसो स्थानमा सडक सञ्चालनयोग्य बनाइसकिएको भए पनि म्याग्दीका सिरुबारी, बैसरी, पनौटो र पोखरेबगर क्षेत्रमा पुलका पहुँचमार्ग मर्मत गर्न बाँकी छ।
आयोजना प्रमुख शर्माका अनुसार म्याग्दी खण्डको करिब १३ किलोमिटर क्षेत्रमा अहिले तीव्र गतिमा मर्मत भइरहेको छ। यद्यपि, सडकलाई पूर्ण रूपमा नियमित सञ्चालनमा ल्याउन कम्तीमा थप एक साता लाग्न सक्ने अनुमान गरिएको छ।
दसैंको मुख्य व्यापारिक समयमै सडक अवरुद्ध भएपछि मुस्ताङका स्याउ किसानको आम्दानीमा प्रत्यक्ष असर पर्ने देखिएको छ। समयमै सडक नखुले बगैंचामा रहेको ठूलो परिमाणको स्याउ नष्ट हुने र किसानले वर्षभरि गरेको लगानीसमेत जोखिममा पर्ने अवस्था छ।