AgriVet Sanchar

बाढी प्रभावित क्षेत्रमा पशु उद्धारदेखि महामारी रोकथामसम्म :सक्रिय बन्यो पशु सेवा विभाग

काठमाडौं । बाढीले मानवीय जनजीवनसँगै पशुपन्छी तथा पशुजन्य क्षेत्रमा समेत क्षति पुर्‍याएपछि सरकारले उद्धार, उपचार र महामारी रोकथामलाई प्राथमिकतामा राख्दै पशु सेवा विभागमार्फत आपत्कालीन काम अघि बढाएको छ।

बाढीको प्रभाव देखिन थालेसँगै भदौ ११ गते विभागले उच्चस्तरीय आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा तत्काल समन्वय र प्रतिक्रिया प्रक्रिया अघि बढाएको जनाएको छ। त्यसै दिन विभागले प्रेस विज्ञप्ति जारी गर्दै बाढी प्रभावित पशुपन्छीको उद्धार तथा उपचार, असहाय पशुपन्छीको आकस्मिक व्यवस्थापन र सम्भावित महामारी रोकथामका लागि सम्बन्धित सबै पक्षलाई सक्रिय हुन आह्वान गरेको थियो।

सरकारी निकायसँगै गैरसरकारी संस्था, पशु चिकित्सक, पशु कल्याणमा काम गर्ने संस्था, व्यवसायी तथा नागरिक समाजसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा सेवा विस्तार गर्ने प्रयास थालिएको विभागले जनाएको छ।

बाढीपछि सबैभन्दा ठूलो चुनौती बनेको थियो—प्रभावित क्षेत्रमा तत्काल पशु उपचार पुर्‍याउनु र मरेका पशुपन्छीको उचित व्यवस्थापन गर्नु। यही आवश्यकता पूरा गर्न विभागले विभिन्न जिल्लाका लागि फोकल पर्सन तोकेर औषधि तथा आकस्मिक उपचार सामग्रीसहित वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा टोली परिचालन गरेको छ।

रसुवामा डा. नवराज श्रेष्ठ, नुवाकोटमा डा. प्रवेश शर्मा, धादिङमा डा. बब्लु ठाकुर र डा. गणेश रानाभाट, गोरखामा डा. अनन्त कोइराला तथा चितवन र नवलपरासी पूर्वमा डा. विजय श्रेष्ठ र डा. प्रभात न्यौपानेको नेतृत्वमा टोली परिचालन गरिएको विभागले जनाएको छ। नवलपरासी पश्चिममा डा. भक्त निउरेलाई जिम्मेवारी दिइएको छ।

प्रभावित जिल्लामा आवश्यक प्राथमिक उपचार सामग्री तथा औषधि व्यवस्थापन गरी जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई हस्तान्तरणसमेत गरिएको छ। यसले बाढीबाट घाइते वा बिरामी भएका पशुपन्छीलाई स्थानीयस्तरमै तत्काल उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागले बाढीका कारण पशुपन्छी, मत्स्यपालन, पशुपालन फार्म, दूध संकलन तथा अन्य पशुजन्य उत्पादनमा परेको क्षतिको विवरणसमेत संकलन गरिरहेको जनाएको छ। स्थानीय पशु सेवा शाखा, जिल्ला तहका कार्यालय, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर क्षतिको प्रारम्भिक विवरण तयार पार्ने काम भइरहेको छ।

बाढीपछि रोग फैलिन सक्ने जोखिमलाई पनि विभागले उत्तिकै गम्भीरताका साथ लिएको छ। मरेका पशुपन्छीको शव व्यवस्थापनदेखि प्रभावित क्षेत्रमा पशु स्वास्थ्य सेवा पुर्‍याउनेसम्मका कामलाई प्राथमिकतामा राखिएको विभागको भनाइ छ।

भदौ १३ गते नुवाकोटमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को प्राविधिक टोली परिचालन गरिएको छ भने रसुवामा पशु कल्याणमा कार्यरत संस्थाको प्राविधिक टोली खटाइएको छ। धादिङ र चितवनका बढी प्रभावित स्थानीय तहमा कार्यरत पशु चिकित्सक तथा पशु स्वास्थ्य प्राविधिकसँग पनि निरन्तर सम्पर्क र सूचना आदानप्रदान भइरहेको विभागले जनाएको छ।

बाढीपछिको पशु स्वास्थ्य संकट व्यवस्थापनमा सरकारी संयन्त्रसँगै विभिन्न सरोकारवाला संस्थालाई समेत जोडिएको छ। नेपाल पशुचिकित्सा परिषद्, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्, FAO, नेपाल भेटेरिनरी एसोसिएसनलगायतका संघसंस्था तथा पशु कल्याण क्षेत्रमा काम गर्ने निकायसँग समन्वय र सहकार्य भइरहेको विभागले जनाएको छ।

बाढीले मानिसको घरखेत मात्र डुबाउँदैन, पशुपालक किसानको वर्षौंको लगानी र आम्दानीको आधारसमेत बगाउन सक्छ। त्यसमाथि मरेका पशुपन्छीको उचित व्यवस्थापन हुन नसके रोग फैलिने जोखिम थपिन्छ। यही चुनौतीलाई ध्यानमा राख्दै पशु सेवा विभागले अहिले उद्धार, उपचार, क्षति विवरण संकलन र महामारी रोकथामलाई एकसाथ अघि बढाएको जनाएको छ।

विभागका अनुसार प्रभावित क्षेत्रमा थप सहयोग तथा पशुपन्छी र मत्स्य क्षेत्रमा भएको क्षतिबारे जानकारी आवश्यक परे सम्बन्धित प्राविधिक टोलीसँग समन्वय गर्न सकिनेछ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.