AgriVet Sanchar

अब खेतमै बसेर एआईसँग परामर्श लिन सकिने:एनएएएमपी र कनेक्ट किसानबिच सम्झौता

काठमाडौं ।नेपालको कृषि क्षेत्र दशकौँदेखि परम्परागत ज्ञान, मौखिक सल्लाह र सीमित सरकारी सेवामा निर्भर रहँदै आएको छ। तर अब कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिले किसानको हातसम्म पुग्ने संकेत देखिएको छ। यही उद्देश्यका साथ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (एनएएएमपी) र कनेक्ट किसान प्रा. लि. बीच ऐतिहासिक सहकार्यको समझदारी भएको छ।

सोमबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा कनेक्ट किसानका निर्देशक राजन दाहाल र एनएएएमपीका कार्यक्रम निर्देशक हिक्मत कुमार श्रेष्ठले डिजिटल कृषि परामर्श सेवा विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे। यस साझेदारीले किसानलाई खेतमै बसेर डिजिटल माध्यमबाट समस्या समाधानको नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।

सम्झौताअनुसार कनेक्ट किसानले विकास गरेको आवाज र टेक्स्ट आधारित एआई प्रणालीमार्फत किसानले मल, बीउ, बजार मूल्य, बाली रोग र कीरा नियन्त्रणजस्ता विषयमा तत्काल सल्लाह पाउनेछन्। किसानले मोबाइल वा अन्य डिजिटल माध्यमबाट आफ्ना समस्या राख्न सक्नेछन्, जसको उत्तर एआईले तुरुन्तै प्रदान गर्नेछ।

कनेक्ट किसानका निर्देशक दाहालका अनुसार भारतमा प्रविधि अपनाएका किसानहरूले उत्पादन वृद्धि गर्न थालेका छन्। “नेपालमा पनि डिजिटल प्रविधिले कृषि क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ,” उनले भने। किसानले नीति, बजार तथा अनुसन्धान आवश्यक पर्ने रोगसम्बन्धी जानकारी एआईमार्फत साझा गर्दा ती तथ्यांक सरकारी निकायले नीति निर्माणमा प्रयोग गर्ने योजना छ।

एनएएएमपीका कार्यक्रम निर्देशक श्रेष्ठले डिजिटल प्लेटफर्मलाई किसान र सरकारबीचको पुलको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। “खेतमा देखिने समस्या किसानले तुरुन्तै रिपोर्ट गर्न सक्नेछन्। जटिल समस्यामा प्राविधिक र अनुसन्धान टोली परिचालन गरिनेछ,” उनले भने।

उनका अनुसार बजार पहुँचको कमी, मल अभाव, रोग व्यवस्थापनजस्ता समस्या डिजिटल डाटामा रूपान्तरण गरी दीर्घकालीन समाधान र भविष्यका योजना तयार गर्न प्रयोग गरिनेछ। यसले प्रमाणमा आधारित कृषि नीति निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कनेक्ट किसानको एआई प्लेटफर्मले बालीविशेष परामर्श, रोग तथा कीरा नियन्त्रण, मल र बीउ सिफारिस तथा बजार जानकारी प्रदान गर्नेछ। यसबाट किसानले वैज्ञानिक जानकारीका आधारमा निर्णय लिन सक्नेछन्, जसले उत्पादन वृद्धि मात्र होइन, लागत घटाउन पनि सहयोग गर्ने विज्ञहरूको भनाइ छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.