काठमाडौँ महानगरपालिका ले पशुपन्छी ढुवानीका क्रममा सार्वजनिक स्थल फोहोर बनाएको अभियोगमा एक सवारी धनीलाई नगद २५ हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरको नियमित अनुगमनका क्रममा वडा नं. १६ वनस्थली क्षेत्रमा कुखुरा ओसारपसार गर्ने गाडीबाट सडक पेटीमै फोहोर फालिएको पाइएको थियो।
अनुगमन टोलीका अनुसार ग १ क ६५५७ नम्बरको सवारी साधनले कुखुरा झार्ने क्रममा सरसफाइ मापदण्ड पालना नगरी फोहोर छोडेको देखिएको थियो। त्यसपछि महानगर प्रहरी बल ले तत्काल कारबाही प्रक्रिया अघि बढाउँदै सवारी धनी सुरेन्द्र भण्डारीबाट २५ हजार रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।
महानगरले शहरी क्षेत्रमा पशुपन्छी ढुवानी गर्दा जैविक सुरक्षासम्बन्धी सावधानी अपनाउन, फोहोर व्यवस्थापन उचित ढंगले गर्न र सार्वजनिक स्वास्थ्यलाई असर नपर्ने गरी काम गर्न सम्बन्धित व्यवसायी तथा सवारी धनीलाई पुनः सचेत गराएको छ।
महानगरका अधिकारीहरूका अनुसार राजधानीजस्तो घना बस्ती भएको क्षेत्रमा सानो लापरबाहीले समेत वातावरणीय प्रदूषण र स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भएकाले सरसफाइ नियम उल्लंघन गर्नेलाई आगामी दिनमा पनि कडा कारबाही गरिनेछ।
