काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्य केपी खनालले अछाम जिल्लामा मात्र पाइने दुर्लभ ‘नौ मुठ्ठे’ गाईको संरक्षण तथा त्यसबाट प्राप्त उत्पादनहरूको व्यवस्थित बजारीकरणका लागि प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुदूरपश्चिमका सांसदहरूसँग भएको विशेष छलफलका क्रममा खनालले लोपोन्मुख अवस्थामा रहेको यस विशिष्ट गाईको प्रजातिको संरक्षणका लागि तत्काल सरकारी पहल आवश्यक रहेको बताएका हुन् । उनले ‘नौ मुठ्ठे’ गाईको अध्ययन गरी व्यवस्थित रूपमा गौशाला स्थापना गर्नुपर्नेमा जोड दिँदै त्यसबाट उत्पादन हुने दूध, घ्यू, गोबर र गौमूत्रलाई वैज्ञानिक ढंगले प्रशोधन र बजारीकरण गर्न सके क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।
अछामको रैथाने मानिने ‘नौ मुठ्ठे’ गाई विश्वकै सानो प्रजातिका रूपमा परिचित छ । यसको दूध, दही, घ्यू, गोमूत्र र गोबर (पञ्चगव्य) लाई अत्यन्त उपयोगी र औषधीय गुणयुक्त मानिन्छ । विशेषगरी क्यान्सरजस्ता जटिल रोगमा समेत यसको पञ्चगव्य लाभदायक हुने विश्वास गरिन्छ ।
उक्त छलफलमा खनालले सुदूरपश्चिमको समग्र विकाससँग सम्बन्धित थप १४ वटा महत्वपूर्ण प्रस्ताव पनि प्रस्तुत गरेका थिए । उनले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शीघ्र पठनपाठन सुरु गर्न, टीकापुर–बझाङ–ताक्लाकोट जोड्ने ‘सेती लोकमार्ग’ निर्माणलाई तीव्रता दिन तथा लामो समयदेखि बन्द रहेको वासुलिङ्ग सुगर मिल पुनः सञ्चालनमा ल्याउन माग गरेका छन् ।
त्यसैगरी, तराई क्षेत्रका थारु समुदायमा देखिएको ‘सिकल सेल एनिमिया’ न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन र पहाडी जिल्लाहरूमा इन्टरनेट तथा मोबाइल नेटवर्क समस्याको दीर्घकालीन समाधान खोज्न पनि उनले जोड दिएका छन् ।
छलफलका क्रममा महाकाली करिडोर, चिसापानी–मंगलसेन सडक, खक्रौला नाकामा क्वारेन्टाइन व्यवस्थापन तथा छाडा चौपायाको उचित व्यवस्थापन जस्ता विषयमा पनि बजेट विनियोजन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साथै, सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई जोड्ने ‘मानसखण्ड सर्किट’ अवधारणालाई कार्यान्वयनमा ल्याउने तथा पहाडी सात जिल्लालाई हवाई सेवासँग जोड्ने विषयमा पनि सकारात्मक छलफल भएको जनाइएको छ ।
