AgriVet Sanchar

देउखुरीमा ४३१ सर्पसहित ४४७ वन्यजन्तुको सफल उद्धार

दाङ, मानव बस्ती र वन क्षेत्रबीचको दूरी घट्दै जाँदा वन्यजन्तु बस्तीमा प्रवेश गर्ने घटना बढिरहेका बेला दाङको देउखुरी क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा ४४७ वटा वन्यजन्तुको सफल उद्धार गरिएको छ। डिभिजन वन कार्यालय देउखुरीका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै ४३१ वटा सर्प रहेका छन्, जसले मानव–वन्यजन्तु द्वन्द्व बढ्दो क्रममा रहेको संकेत पनि गर्दछ।

कार्यालयका वरिष्ठ फरेष्टर चिरञ्जीवी खनालका अनुसार उद्धार गरिएका सर्पमध्ये २७० वटा कोब्रा रहेका छन्। त्यसैगरी ४५ वटा करेत, ४२ वटा धामन, ३२ वटा पानी सर्प, १७ वटा बिरालु सर्प, १४ वटा शृङ्गारे, ९ वटा अजिङ्गर, १ वटा राजगोमन र १ वटा रसेल भाइपर सुरक्षित रूपमा उद्धार गरिएको छ।

सर्प बाहेक अन्य वन्यजन्तुको पनि उल्लेखनीय रूपमा उद्धार गरिएको कार्यालयले जनाएको छ। तथ्यांकअनुसार १ वटा चितुवा, २ वटा चित्तल, ४ वटा रतुवा, ५ वटा गिद्ध, ३ वटा वन बिरालो तथा १ वटा कछुवालाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित निकालिएको थियो।

कार्यालयको प्राविधिक समन्वयमा वन्यजन्तु उद्धारकर्ता तथा पत्रकार शिवु खनालले देउखुरीका चारवटै स्थानीय तहअन्तर्गत घर, विद्यालय, सार्वजनिक स्थल तथा अन्य बस्ती क्षेत्रमा पुगेका सर्प र अन्य वन्यजन्तुको उद्धार गरेका थिए। आवश्यक कानुनी प्रक्रिया पूरा गरी ती वन्यजन्तुलाई पुनः प्राकृतिक बासस्थानमा छाडिएको जनाइएको छ।

वरिष्ठ फरेष्टर खनालका अनुसार घाइते भएका, टुहुरा परेका, बाटो बिराएर बस्तीमा पुगेका वा अन्य कारणले जोखिममा परेका वन्यजन्तुको प्राथमिकताका साथ उद्धार गरिन्छ। घाइते अवस्थामा भेटिएका वन्यजन्तुको उपचारपछि मात्र उनीहरूलाई प्राकृतिक वातावरणमा फर्काइने व्यवस्था गरिएको छ।

उद्धार गरिएका अधिकांश वन्यजन्तुलाई सामुदायिक वन तथा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रीन पार्क र कुलपानी हरित पार्कमा पुनःस्थापना गरिएको छ। केही वन्यजन्तुलाई भने थप संरक्षण र व्यवस्थापनका लागि बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज पठाइने गरिएको कार्यालयले जनाएको छ।

डिभिजनल वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षाकर्मी, पत्रकार तथा संरक्षणकर्मीबीचको समन्वयका कारण उद्धार अभियान प्रभावकारी बन्दै गएको छ। उनका अनुसार वन विनाश, बासस्थानको संकुचन, जलवायु परिवर्तन, प्राकृतिक आहाराको अभाव तथा बढ्दो मानव गतिविधिका कारण वन्यजन्तु बस्तीमा प्रवेश गर्ने घटना पछिल्ला वर्षहरूमा बढिरहेका छन्।

“वन्यजन्तु बस्तीमा देखिनु केवल जोखिमको संकेत मात्र होइन, उनीहरूको प्राकृतिक बासस्थानमा परेको दबाबको संकेत पनि हो,” उनले भने। यस्ता अवस्थामा वन्यजन्तुलाई क्षति नपुर्‍याई सुरक्षित रूपमा उद्धार गरी पुनः जंगलमा फर्काउनु सबै पक्षको साझा जिम्मेवारी रहेको उनको भनाइ छ।

डिभिजन वन कार्यालयले आगामी दिनमा उद्धार टोलीलाई थप दक्ष बनाउने, अत्यावश्यक उद्धार उपकरणको व्यवस्थापन गर्ने, स्थानीय तहसँगको सहकार्य अझ विस्तार गर्ने तथा वन्यजन्तु संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने योजना सार्वजनिक गरेको छ।

कार्यालयले सर्वसाधारणलाई सर्प वा अन्य वन्यजन्तु बस्तीमा देखिएमा आत्तिनु वा आक्रमण गर्नुको सट्टा तत्काल डिभिजन वन कार्यालय वा सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ। संरक्षणकर्मीहरूका अनुसार समयमै सूचना दिएमा मानव र वन्यजन्तु दुवैको जीवन सुरक्षित राख्न सकिने भएकाले समुदायको सचेत सहभागिता वन्यजन्तु संरक्षणको महत्वपूर्ण आधार बनेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.