AgriVet Sanchar

भारतबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न सरकारको स्वीकृति

काठमाडौं । आगामी कृषि सिजनमा रासायनिक मलको अभाव हुन नदिन सरकारले भारतबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ। यसका लागि सरकारले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारत सरकारसँग सरकार–सरकार (जिटुजी) माध्यमबाट मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयबारे जानकारी दिएका हुन्।

सरकारका अनुसार किसानलाई आवश्यक समयमा रासायनिक मल उपलब्ध गराउने उद्देश्यले भारतसँग जिटुजी माध्यमबाट डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनीलाई अनुमति दिइएको हो। स्वीकृति पाएसँगै कम्पनीले मल खरिदका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।

कृषि उत्पादनका लागि महत्वपूर्ण मानिने डीएपी मलको माग विशेषगरी बाली लगाउने समयमा बढ्ने गर्छ। तर पर्याप्त आपूर्ति नहुँदा किसानले हरेक वर्ष मलको अभाव झेल्दै आएका छन्। यही समस्या कम गर्ने उद्देश्यले सरकारले आगामी सिजनअघि नै मलको उपलब्धता सुनिश्चित गर्न प्रक्रिया अघि बढाएको जनाएको छ।

सरकारको यो निर्णय कार्यान्वयनमा आएमा आगामी कृषि सिजनमा किसानलाई डीएपी मलको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। सरकारले समयमै मल उपलब्ध गराएर उत्पादनको महत्वपूर्ण चरणमा किसानले भोग्दै आएको अभाव कम गर्ने लक्ष्य राखेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.