खैरहनी, चितवन — त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको आंगिक क्याम्पस रामपुर क्याम्पस, खैरहनीमा नेपालमै पहिलोपटक कृषि व्यवसाय व्यवस्थापन तथा उद्यमशीलतालाई केन्द्रमा राखेर कृषि स्नातक तहको नयाँ कार्यक्रम सञ्चालन हुने भएको छ।
क्याम्पसले शैक्षिक सत्र २०८३/८४ का लागि कृषि स्नातकअन्तर्गत कृषि व्यवसाय व्यवस्थापन तथा उद्यमशीलता कार्यक्रममा नयाँ विद्यार्थी भर्ना खुला गरेको हो। कृषि उत्पादनसँगै त्यसको व्यवसायीकरण, बजारीकरण, मूल्य अभिवृद्धि, वित्तीय व्यवस्थापन र उद्यम विकासमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको क्याम्पसले जनाएको छ।

देशका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाले स्नातक तहमा कृषि शिक्षा दिँदै आए पनि कृषि व्यवसाय व्यवस्थापन र उद्यमशीलतालाई कार्यक्रमको मुख्य आधार बनाएर तयार गरिएको यस्तो कार्यक्रम नेपालमा पहिलोपटक सञ्चालन हुन लागेको रामपुर क्याम्पसको दाबी छ।
क्याम्पसका निमित्त प्रमुख अच्युत गैरेका अनुसार गत वर्ष विद्यार्थी भर्ना प्रक्रिया रोकिएको रामपुर क्याम्पसमा विभिन्न सरोकारवाला निकायको पहल र समन्वयपछि यस वर्ष नयाँ कार्यक्रममार्फत भर्ना खोलिएको हो।
“नेपालको कृषि क्षेत्र उत्पादनमुखी अवस्थाबाट क्रमशः व्यावसायिक र उद्यमशीलतातर्फ अघि बढिरहेको छ। त्यसैले कृषि उत्पादनको प्राविधिक ज्ञानसँगै व्यवसाय सञ्चालन, व्यवस्थापन, बजार पहिचान र उद्यम विकासको सीप भएको जनशक्ति अहिलेको आवश्यकता हो,” गैरेले भन्नुभयो।
कृषि विज्ञानसँगै व्यवसाय र उद्यमशीलताको ज्ञान
नयाँ कार्यक्रमको पाठ्यक्रममा परम्परागत कृषि विज्ञानका विषयसँगै कृषि व्यवसाय व्यवस्थापन र उद्यमशीलतालाई विशेष प्राथमिकता दिइएको छ।
पहिलो वर्षमै अर्थशास्त्र, बाली विज्ञान, बागवानी, पशु विज्ञान, माटो विज्ञान, वनस्पति रोग विज्ञान, कीट विज्ञान तथा समाज र व्यवसायसम्बन्धी विषय समेटिएका छन्।
दोस्रो वर्षमा कृषि फार्म व्यवस्थापन तथा उत्पादन अर्थशास्त्र, व्यवस्थापनका सिद्धान्त, व्यावसायिक तरकारी उत्पादन, एकीकृत पोषक तत्त्व व्यवस्थापन, सिँचाइ व्यवस्थापन तथा एकीकृत कीरा व्यवस्थापनजस्ता विषय राखिएका छन्। यी विषयले विद्यार्थीलाई कृषि उत्पादनसँगै त्यसको व्यवस्थापकीय पक्षको आधारभूत ज्ञान दिने अपेक्षा गरिएको छ।
तेस्रो र चौथो वर्षमा कृषि उत्पादन तथा प्रविधिसँगै संगठनात्मक व्यवहार तथा मानव संसाधन व्यवस्थापन, व्यावसायिक बाली उत्पादन, कृषि तथ्याङ्क, सामाजिक परिचालन तथा सामुदायिक विकास, कृषि उद्यमशीलता र कृषि बजारीकरणजस्ता विषय अध्ययन गराइनेछ।
व्यवसाय योजना र वित्तीय व्यवस्थापनदेखि मूल्य शृङ्खलासम्म
कार्यक्रमको विशेष आकर्षणका रूपमा पाँचौँ र छैटौँ सेमेस्टरमा कृषि व्यवसायसँग प्रत्यक्ष सम्बन्धित विषयलाई थप प्राथमिकता दिइएको छ।
पाँचौँ सेमेस्टरमा कृषि व्यवसाय व्यवस्थापन, कृषि व्यवसाय वित्तीय व्यवस्थापन, व्यवसाय योजना विकास तथा उद्यम प्रवर्द्धन र सूचना प्रविधि तथा डिजिटल कृषिजस्ता विषय समावेश गरिएको छ।
त्यस्तै, छैटौँ सेमेस्टरमा कृषि व्यवसायसम्बन्धी नीति तथा कानुन, बाली तथा पशुधन बीमा, कृषि व्यवसाय मूल्य शृङ्खला व्यवस्थापन, प्याकेजिङ तथा भण्डारण केन्द्र सञ्चालन एवं आपूर्ति शृङ्खला र कृषिजन्य वस्तुको निर्यात बजारसम्बन्धी विषय पढाइनेछ।
यसले विद्यार्थीलाई खेतबारीमा उत्पादनदेखि वस्तुको प्रशोधन, प्याकेजिङ, बजार विस्तार र निर्यातसम्मको सम्पूर्ण व्यावसायिक प्रक्रियाबारे ज्ञान र सीप हासिल गर्ने अवसर दिनेछ।
उद्योगमै पुगेर सिक्ने व्यवस्था
कार्यक्रमले कक्षाकोठाको सैद्धान्तिक अध्ययनमा मात्र सीमित नभई व्यवहारिक तथा उद्योगमा आधारित सिकाइलाई समेत प्राथमिकता दिएको छ।
पाठ्यक्रमअनुसार सातौँ र आठौँ सेमेस्टरमा क्रमशः उद्योगमा आधारित प्रयोगात्मक कार्य–१ र उद्योगमा आधारित प्रयोगात्मक कार्य–२ सञ्चालन हुनेछन्। दुवैका लागि १६–१६ क्रेडिट अर्थात् कुल ३२ क्रेडिटको व्यवस्था गरिएको छ।
समग्र कार्यक्रममा १६२ क्रेडिट कायम गरिएको छ। त्यसमध्ये ८६ क्रेडिट सैद्धान्तिक, ४४ क्रेडिट प्रयोगात्मक र ३२ क्रेडिट उद्योगमा आधारित अभ्यास तथा इन्टर्नसिपका लागि छुट्याइएको छ।
यस संरचनाले विद्यार्थीलाई कृषि उत्पादनको प्राविधिक ज्ञानसँगै व्यवसाय सञ्चालन, व्यवस्थापन, वित्तीय योजना, बजार व्यवस्थापन, मूल्य शृङ्खला र उद्योगसँग प्रत्यक्ष जोडिएर काम गर्ने अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
कृषि क्षेत्रमा रोजगारीसँगै उद्यमको अवसर
नेपालको कृषि क्षेत्रमा ठूलो जनशक्ति उत्पादनमा केन्द्रित भए पनि उत्पादनपछिको व्यवस्थापन, प्रशोधन, बजारीकरण, मूल्य अभिवृद्धि, आपूर्ति शृङ्खला, वित्तीय व्यवस्थापन र बजार विस्तारका क्षेत्रमा अझै पर्याप्त सम्भावना रहेको विज्ञहरूको बुझाइ छ।
यस्तो अवस्थामा कृषि र व्यवसाय व्यवस्थापनलाई एउटै अध्ययनमा जोड्ने जनशक्तिले नेपालको कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
रामपुर क्याम्पसका अनुसार यस कार्यक्रमबाट अध्ययन पूरा गरेका विद्यार्थीले कृषि उद्यम तथा कम्पनी, सहकारी, बैंक तथा वित्तीय संस्था, कृषि तथा पशुजन्य उत्पादनको प्रशोधन र बजारीकरण, आपूर्ति शृङ्खला व्यवस्थापन, कृषि बीमा, निर्यात व्यवसाय लगायतका क्षेत्रमा रोजगारीको अवसर खोज्न सक्नेछन्। त्यस्तै, आफ्नै कृषि उद्यम स्थापना गरी व्यवसाय सञ्चालन गर्ने आधारसमेत विद्यार्थीले तयार गर्न सक्नेछन्।
नेपालको कृषि शिक्षामा उत्पादनसँगै व्यवसाय, व्यवस्थापन र उद्यमशीलतालाई एउटै छातामुनि जोड्ने प्रयासका रूपमा हेरिएको यो कार्यक्रमले कृषि क्षेत्रमा आवश्यक नयाँ पुस्ताको दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ।
रामपुर क्याम्पसमा सुरु हुन लागेको यो नयाँ कार्यक्रमले कृषि शिक्षालाई केवल उत्पादनमा सीमित नराखी “उत्पादनदेखि बजारसम्म र कृषकदेखि उद्यमीसम्म” जोड्ने दिशामा नयाँ अभ्यासको सुरुवात गर्ने देखिएको छ।