AgriVet Sanchar

बर्ड फ्लु प्रकरणः संक्रमणबारे समयमै जानकारी नदिएको आरोपमा जावलाखेल चिडियाखाना प्रमुखमाथि छानबिन

काठमाडौं। जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु संक्रमण देखिएको विषय समयमै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई जानकारी नगराएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि विभागीय छानबिन सुरु गरिएको छ।

कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनपछि साहलाई चिडियाखाना प्रमुखको जिम्मेवारीबाट हटाएर केन्द्रीय कार्यालयमा तानिएको हो। साथै, घटनाको वास्तविक अवस्था र संक्रमण फैलिनुको कारणबारे अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

कोषकी प्रवक्ता तथा प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठित समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन्। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

कोषका अनुसार वन्यजन्तुको स्वास्थ्य अवस्थाबारे आवश्यक संवेदनशीलता नदेखाएको र संक्रमणसम्बन्धी सूचना समयमै केन्द्रीय कार्यालयसम्म नपुर्‍याएको आरोपमा साहमाथि अनुसन्धान अघि बढाइएको हो। उनको स्थानमा वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

पशु सेवा विभागको प्रयोगशालामा गरिएको परीक्षणबाट चिडियाखानाका केही पन्छी तथा जनावरमा बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो। जानकारीअनुसार करिब १० दिनअघिदेखि विभिन्न प्रजातिका पन्छी र जनावर मर्न थाले पनि यसबारे सम्बन्धित निकायलाई औपचारिक जानकारी नपुगेको बताइएको छ।

परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्धजस्ता चराचुरुंगीका साथै नीरबिरालो र चरीबाघमा समेत संक्रमण भेटिएको थियो। लगातार वन्यजन्तु मर्दै गएपछि मात्र नमुना परीक्षण गरिएको र त्यसपछि संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ।

हालै चिडियाखानामा देखिएका विभिन्न घटनाक्रम र बर्ड फ्लुजस्तो संवेदनशील विषयमा समयमै प्रतिवेदन पेश नगरेको भन्दै कोषले साहमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.