AgriVet Sanchar

बाढीपीडितको साथमा उभियो रुङ्गटा ग्रुप :राहत कोषमा २ करोड १ लाख सहयोग

काठमाडौं । विपद्ले जनजीवन अस्तव्यस्त बनाइरहेका बेला निजी क्षेत्रबाट राहत र पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी छ। यही क्रममा वीरगञ्जका उद्योगपति तथा समाजसेवी मुरलीधर रुङ्गटा संस्थापक भएको रुङ्गटा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

भोटेकोशी बाढी र त्यसबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपअन्तर्गतका पाँच कम्पनीमार्फत उक्त रकम उपलब्ध गराइएको हो। पछिल्लो समय बाढी तथा पहिरोले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि स्रोत जुटाउने प्रयास भइरहेको छ।

रुङ्गटा ग्रुपका अनुसार समूहअन्तर्गतका पाँचवटा कम्पनीमार्फत उक्त रकम कोषमा प्रदान गरेका छन्,ओसीबी फुड्स एन्ड फिड्स प्रालिले ७५ लाख, ओम चाबो बिरो फिड प्रालिले ५० लाख, ओम चाबो बिरो पेलेट फिड प्रालिले २५ लाख, ओम एग्रो प्रोडक्ट्स प्रालिले २५ लाख र पोषक ब्रीडर फार्म प्रालिले २६ लाख रुपैयाँ सहयोग गरेका छन्।

रुङ्गटा ग्रुप नेपालमा लामो समयदेखि उद्योग, व्यापार तथा विभिन्न उत्पादनमूलक क्षेत्रमा सक्रिय व्यवसायिक समूह हो। यसको यात्रा मुरलीधर रुंगटाको नेतृत्वमा सन् १९६८ मा सुरु भएको थियो। हाल समूहले खाद्यान्न, कृषि, पोल्ट्री फिड, एफएमसीजीलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेको छ।

ग्रुपले उद्योग र व्यवसायलाई मात्र प्राथमिकता नदिई सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो कामको महत्वपूर्ण हिस्सा बनाउँदै आएको जनाएको छ। विपद्का बेला राहत तथा उद्धार, स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सहयोग गर्दै आएको ग्रुपले यसपटक पनि प्राकृतिक विपद्बाट प्रभावित नागरिकको पक्षमा आर्थिक सहयोग गरेको हो।

बाढीले घर, व्यवसाय, पूर्वाधार र जीविकोपार्जनका आधारमा क्षति पुर्‍याइरहेको अवस्थामा सरकारी प्रयाससँगै निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले तत्कालीन राहतदेखि पुनःस्थापनासम्मका काममा थप स्रोत उपलब्ध गराउने अपेक्षा गरिएको छ।

रुङ्गटा ग्रुपको २ करोड १ लाख रुपैयाँको सहयोग पनि यही मानवीय प्रयासको एउटा महत्वपूर्ण हिस्सा बनेको छ। विपद्को कठिन घडीमा व्यवसायिक क्षेत्रबाट आएको यो सहयोगले प्रभावित नागरिकलाई राहत र पुनःस्थापनाका लागि थप हातेमालोको सन्देश दिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.