AgriVet Sanchar

कृषि अनुसन्धानलाई उत्पादनमुखी बनाउन मन्त्री चौधरीको जोड:चैते धान र सुख्खा धानमा अनुसन्धान बढाउन निर्देशन

धनुषा — कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि अनुसन्धानलाई किसानको आवश्यकता अनुरूप प्रभावकारी बनाउन जोड दिँदै चैते धान उत्पादन विस्तार र कम पानीमा उत्पादन हुने धानका जातको अनुसन्धानलाई प्राथमिकता दिन आग्रह गरेकी छन्।

दुई दिने धनुषा भ्रमणका क्रममा आइतबार हर्दिनाथस्थित कृषि अनुसन्धान केन्द्र पुगेर मन्त्री चौधरीले केन्द्रका वैज्ञानिक तथा अनुसन्धानकर्तासँग छलफल गर्दै मधेश प्रदेशको कृषि क्षेत्रले भोगिरहेका चुनौतीबारे जानकारी लिएकी थिइन्। छलफलका क्रममा उनले सिँचाइ अभाव मधेशको प्रमुख समस्या भएकाले न्यून पानीमै राम्रो उत्पादन दिने धानका जात विकासमा अनुसन्धानलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याइन्।

उनले हर्दिनाथमा उत्पादन हुने उन्नत धानको बीउ गुणस्तरीय भए पनि करिब ३५ प्रतिशत किसानले मात्र प्रयोग गरिरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यसको प्रयोग बढाउन प्रभावकारी योजना बनाउन अनुसन्धान केन्द्रलाई निर्देशन दिइन्। किसानलाई उन्नत बीउसँगै मल, बजार व्यवस्थापन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने एकीकृत प्रणाली विकास गर्नुपर्नेमा पनि उनले जोड दिइन्।

मन्त्री चौधरीले अनुसन्धान संस्थाहरूले बजेट अभावलाई मात्र समस्याका रूपमा प्रस्तुत गर्नु पर्याप्त नहुने बताउँदै वैकल्पिक स्रोतबाट पनि आर्थिक सहयोग जुटाउने पहल गर्नुपर्ने धारणा राखिन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्था र विभिन्न विभागसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै थप स्रोतसाधन भित्र्याउन अनुसन्धान केन्द्रहरूले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले विभिन्न कृषि सहकारी, कृषि उत्पादनसँग सम्बन्धित संस्था तथा किसानहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूले भोगिरहेका समस्या, उत्पादनको अवस्था र आवश्यकताबारे जानकारी लिएकी छन्। उनले मधेश प्रदेशको कृषि उत्पादनलाई थप गुणस्तरीय, प्रतिस्पर्धी र दिगो बनाउन सरकारले आवश्यक नीति तथा कार्यक्रममार्फत विशेष प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरिन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.