AgriVet Sanchar

बाढीले बगायो १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन

खाद्यान्न उत्पादनमा ७ हजार ६८६ टनले कमी आउने अनुमान, आयात र मूल्यवृद्धिको जोखिम बढ्यो

भाद्र २२, २०८३ 

काठमाडौं — भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटसहित प्रभावित जिल्लामा ठूलो मात्रामा कृषियोग्य जमिन र बालीमा क्षति पुर्‍याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक आकलनअनुसार बाढीका कारण १ हजार ८०६ हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको छ। यसबाट प्रभावित क्षेत्रमा करिब ७ हजार ६८६ टन खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको छ।

कृषियोग्य जमिनसँगै किसानले लगाएको धान, कोदो, भटमास, दाललगायतका बाली तथा कृषि उपकरणमा समेत क्षति पुगेपछि आगामी दिनमा खाद्यान्न आपूर्तिमा दबाब पर्न सक्ने देखिएको छ। उत्पादन घटेपछि आन्तरिक माग धान्न खाद्यान्न आयात बढ्ने र त्यसको असर बजार मूल्यमा समेत पर्न सक्ने विज्ञहरूको आकलन छ।

नुवाकोटको विदुर नगरपालिकाका किसानले पछिल्ला दुई वर्षदेखि जलवायु परिवर्तनका असर सामना गर्न सक्ने रैथाने बालीको खेतीलाई प्राथमिकता दिँदै आएका थिए। धानसँगै कोदो, भटमासलगायतका बाली लगाउँदै आएका किसानलाई खाद्य तथा कृषि संगठन र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रको सहकार्यमा रैथाने बाली प्रवर्द्धनसम्बन्धी तालिमसमेत दिइएको थियो।

किसानलाई नयाँ जातका धानका बीउ उपलब्ध गराउनुका साथै स्थानीयस्तरमा उत्पादन हुने कोदोबाट विभिन्न खाद्य सामग्री बनाउन आवश्यक उपकरण र ओभनसमेत उपलब्ध गराइएको थियो। तर भोटेकोशीको बाढीले त्यही कृषि प्रणाली र किसानको भविष्यको योजनामाथि ठूलो धक्का पुर्‍याएको छ।

रैथाने बाली प्रवर्द्धनसम्बन्धी उक्त परियोजनामा आबद्ध ६ जना किसान बाढीपछि सम्पर्कविहीन रहेको नेपाल कृषि अनुसन्धान परिषद्को अनुगमन तथा मूल्यांकन महाशाखाकी प्रमुख सुधा सापकोटाले बताइन्। अन्य किसानको खेतबारी र बालीमा पनि ठूलो क्षति पुगेको उनले जानकारी दिइन्।

‘म केही समयअघि मात्रै अनुगमनका लागि पुगेकी थिएँ। धेरै किसानको खेतबारी र बालीमा क्षति पुगेको छ,’ सापकोटाले भनिन्, ‘कतिपय किसानको त खेतीयोग्य जमिन नै बाँकी छैन। उत्पादन सुरु गरेर आम्दानी बढाउने योजनामा रहेका किसान अहिले बाढीपछि कसरी अगाडि बढ्ने भन्ने अन्योलमा छन्।’

किसानलाई जलवायुमैत्री धान खेतीतर्फ आकर्षित गर्न रामधान, सावित्रीलगायतका धानका जातको उत्पादन बढाउन प्रोत्साहन गरिएको थियो। तर बाढीले खेतीयोग्य जमिनसँगै बाली र कृषि सामग्रीसमेत नष्ट गरेपछि स्थानीय उत्पादनको आधार नै कमजोर बनेको सापकोटाको भनाइ छ।

‘उत्पादन गरेर आम्दानी गर्ने किसानको सपना र स्थानीय खाद्य उत्पादनमा बाढीले ठूलो असर गरेको छ,’ उनले भनिन्, ‘यसले खाद्यान्न आपूर्ति प्रणालीलाई समेत कमजोर बनाउने देखिन्छ।’

धानसहित दलहन बालीमा पनि क्षति

भोटेकोशी बाढीले नुवाकोटको विदुर नगरपालिका आसपासका धान खेतमा ठूलो क्षति पुर्‍याएको स्थानीय अगुवा किसान रामप्रसाद प्याकुरेलले बताए। यहाँ हाइब्रिड तथा स्थानीय जातका धान लगाइएको थियो। खेतका आलीमा लगाइएका भटमास, मासलगायतका दलहन बाली पनि बाढीले नष्ट गरेको छ।

‘धानमा धेरै क्षति पुगेको छ। खेतका आलीमा लगाइएको मास र भटमास पनि बचेको छैन,’ उनले बताए।

कृषि उत्पादनको मुख्य समयमै बाढीले खेत र बालीमा क्षति पुर्‍याएकाले यसको असर आगामी महिनामा देखिन सक्ने विज्ञहरू बताउँछन्। विशेषगरी धान उत्पादनमा कमी आएमा नेपालले थप चामल तथा अन्य खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउन सक्छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले ७ हजार ६८६ टन खाद्यान्न उत्पादनमा कमी आउने तथ्यांक प्रारम्भिक रहेको बताइन्।

‘अहिले प्राप्त विवरण प्रारम्भिक आकलनमा आधारित छ,’ महतले भनिन्, ‘विस्तृत विवरण संकलन भएपछि थप तथ्यांक समेटेर प्रतिवेदन अद्यावधिक गरिनेछ।’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रकाशकुमार श्रेष्ठका अनुसार कृषियोग्य जमिन र उत्पादनका साधनमा भएको क्षतिले कृषि क्षेत्र मात्र नभई समग्र अर्थतन्त्रमा असर पार्न सक्छ।

‘बाढीले कृषियोग्य जमिनमा ठूलो असर पारेको छ। उत्पादन घटेपछि आन्तरिक उत्पादनले माग धान्न नसक्ने अवस्था आउँदा खाद्यान्न आयात बढ्नु स्वाभाविक हो,’ श्रेष्ठले भने, ‘आयात बढ्दा खाद्यान्नको मूल्यसँगै समग्र महँगीमा समेत दबाब पर्न सक्छ।’

उनका अनुसार बाढीबाट बाली र जमिन मात्रै नभई किसानका उत्पादनका साधन तथा कृषि पूर्वाधारमा समेत क्षति पुगेको छ। यसले किसानको आगामी लगानी क्षमता घटाउनुका साथै कृषि क्षेत्रमा नयाँ लगानी गर्नसमेत निरुत्साहित गर्न सक्ने जोखिम छ।

समयमै रोपाइँ सकिए पनि बाढीले चिन्ता थप्यो

कृषि विभागका अनुसार यस वर्ष देशभर धान रोपाइँ करिब ९८.४८ प्रतिशत सम्पन्न भएको थियो। गत वर्षको तुलनामा समयमै रोपाइँ सम्पन्न भएकाले यस वर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिएको थियो।

तर बाढीका कारण कतिपय क्षेत्रमा रोपिएको धान नै बगाएपछि उत्पादन वृद्धिको अनुमानमा चुनौती थपिएको छ।

नेपालले पछिल्लो समय खाद्यान्न आयातमा ठूलो रकम खर्च गर्दै आएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै नेपालले ३२ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको धान तथा चामल आयात गरेको तथ्यांक छ।

बाढीका कारण स्थानीय उत्पादन घटेमा आगामी दिनमा खाद्यान्न आयातमा थप निर्भर हुनुपर्ने अवस्था आउन सक्ने कृषि क्षेत्रका जानकारहरूको भनाइ छ।

बाढीले अहिले खेत, बाली र कृषि उपकरण मात्र बगाएको छैन; धेरै किसानको वर्षौंको मेहनत, आम्दानीको आधार र भविष्यको कृषि योजनासमेत प्रभावित भएको छ। पुनः खेती गर्न सक्ने गरी जमिन तयार पार्न, बिउ तथा कृषि सामग्री उपलब्ध गराउन र प्रभावित किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्न नसके यसको असर आगामी उत्पादन चक्रसम्मै लम्बिन सक्ने देखिन्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.