AgriVet Sanchar

“पोखरामा पहिलोपटक ‘राइट टू प्रोटिन रन’: ४ हजारभन्दा बढी धावक सहभागी हुँदै

पोखरा — पोखराको लेकसाइड फेरि एकपटक देशभरका धावकको गन्तव्य बन्ने भएको छ। पोषण र फिटनेसको सन्देशसहित आयोजना हुँदै आएको ‘राइट टू प्रोटिन रन–२०२६’ को पाँचौँ संस्करण आगामी सेप्टेम्बर १९ (असोज ३ गते) पोखरामा हुने भएको छ। आयोजकले प्रतियोगितामा ४ हजारभन्दा बढी सहभागी हुने अनुमान गरेको छ।

नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन ले आयोजना गर्ने प्रतियोगितामा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल मुख्य प्रायोजकका रूपमा रहनेछ भने नेपाल एथलेटिक्स संघले प्राविधिक पक्ष सम्हाल्नेछ।

यसपटकको कार्यक्रमलाई दौड प्रतियोगितामा मात्र सीमित नराखी खानपान, व्यायाम र स्वास्थ्यलाई एउटै अभियानसँग जोड्ने प्रयास गरिएको आयोजकको भनाइ छ। पछिल्ला वर्षमा काठमाडौं केन्द्रित रहेको यो कार्यक्रम पहिलोपटक पोखरामा हुन लागेको हो।

२१ किलोमिटरदेखि विद्यार्थी दौडसम्म

प्रतियोगितामा विभिन्न उमेर समूह र क्षमताका धावकलाई समेटेर आठ विधा राखिएको छ। मुख्य आकर्षणका रूपमा रहेको हाफ म्याराथनमा महिला र पुरुष दुवैका लागि २१ किलोमिटरको दौड हुनेछ।

यसैगरी खुला पुरुषतर्फ १० किलोमिटर र खुला महिलातर्फ ५ किलोमिटर दौड आयोजना हुनेछ। विद्यालय तहका विद्यार्थीका लागि पनि छुट्टै प्रतिस्पर्धा राखिएको छ, जसमा पुरुषतर्फ ५ र महिलातर्फ ३ किलोमिटरको दूरी तय गर्नुपर्नेछ। ह्विलचेयरतर्फ महिला र पुरुषका लागि ३ किलोमिटरको दौड हुनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने धावकलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ। हाफ म्याराथनका महिला तथा पुरुष विजेताले जनही १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सबै विधाका शीर्ष पाँच धावकलाई पुरस्कार दिने व्यवस्था गरिएको छ।

आयोजकका अनुसार करसहित प्रतियोगिताको कुल पुरस्कार प्याकेज १६ लाख रुपैयाँ बराबरको हुनेछ।

बसुन्धरा पार्कबाट सुरु हुनेछ दौड

दौडको सुरुवात र समापन दुवै लेकसाइडको बसुन्धरा पार्कमा हुनेछ। त्यहाँबाट धावक हल्लनचोक हुँदै खहरे, सेदी, खपौंदी, पामे र लौरुकतर्फ जानेछन्। निर्धारित बिन्दुमा पुगेपछि उनीहरू उही मार्ग हुँदै फर्किएर बसुन्धरा पार्कमा पुग्नेछन्।

ठूलो संख्यामा धावक सहभागी हुने भएकाले रुट व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ। सुरक्षा तथा ट्राफिक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने आयोजकले जनाएको छ।

धावकको स्वास्थ्य सुरक्षाका लागि दौड मार्गमा पानी र हाइड्रेसन स्टेसन, प्राथमिक उपचार केन्द्र तथा स्वास्थ्यकर्मी परिचालन गरिनेछ। कुनै आकस्मिक अवस्था आइपरे एम्बुलेन्स र आपत्कालीन चिकित्सा सेवा उपलब्ध गराउने तयारी पनि गरिएको छ।

प्लेटमा पुग्नुपर्छ प्रोटिनको सन्देश

प्रतियोगिताको नाममै रहेको ‘प्रोटिन’ यस वर्षको अभियानको मुख्य विषय हो। आयोजकले दैनिक खानामा सहजै समावेश गर्न सकिने प्रोटिनका स्रोतबारे आम मानिसलाई जानकारी दिने लक्ष्य राखेको छ।

अण्डा, दूध, माछा, कुखुराको मासु, सोया तथा टोफुदेखि पनीर, दाल र विभिन्न गेडागुडीसम्मका खाद्य पदार्थलाई अभियानमा जोड दिइएको छ।

आयोजकका अनुसार पोषणको विषय विशेषज्ञ र सम्मेलनको बहसमा मात्र सीमित नराखी परिवार, विद्यालय र समुदायको दैनिक जीवनसम्म पुर्‍याउनु आवश्यक छ। त्यसैका लागि खेलकुदलाई जनचेतनाको प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिएको हो।

पोखराको खेल पर्यटनलाई पनि फाइदा

प्रतियोगिताले स्वास्थ्य र पोषणको सन्देशसँगै पोखराको खेल पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। देशका विभिन्न स्थानबाट धावक, उनीहरूका परिवार र खेलप्रेमी पोखरा आउने भएकाले यसले स्थानीय पर्यटन र आतिथ्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास छ।

साथै, स्थापित धावकसँगै नयाँ पुस्ताका खेलाडीलाई एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराएर प्रतिभा पहिचान र विकासमा योगदान पुर्‍याउने लक्ष्य पनि राखिएको छ।

सन् २०१९ देखि सञ्चालन हुँदै आएको ‘राइट टू प्रोटिन रन’ ले यसपटक पोखरालाई आफ्नो नयाँ गन्तव्य बनाएको हो। आयोजकको नजरमा यसको उद्देश्य पदक र पुरस्कारमा मात्र सीमित छैन—दौडिने बानीसँगै सही खानेकुरा रोज्ने संस्कार विकास गर्नु पनि अभियानको महत्वपूर्ण हिस्सा हो।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.