AgriVet Sanchar

ढोरपाटनमा रोमाञ्चक सिकार याम: लाखौँ खर्च गर्दै विदेशी सिकारी

बागलुङको ढोरपाटन क्षेत्रमा अहिले दोस्रो सिकार याम सञ्चालनमा आएको छ, जहाँ विदेशी सिकारीहरू नाउर, झारल र बँदेलको सिकारमा व्यस्त देखिएका छन्। नेपालकै एक मात्र सिकार आरक्षका रूपमा परिचित ढोरपाटनमा हरेक वर्ष दुई चरणमा सिकार याम सञ्चालन हुने व्यवस्था अनुसार फागुनदेखि वैशाखसम्म दोस्रो याम चलिरहेको हो।

यस यामका लागि सम्बन्धित निकायले निश्चित कोटा निर्धारण गर्दै १४ नाउर, १० झारल र १३ बँदेलको सिकार अनुमति दिएको छ। अनुमति प्राप्त गर्न विदेशी सिकारीहरूले प्रतिस्पर्धात्मक प्रक्रियामार्फत राजस्व बुझाएका छन्। विभिन्न अन्तर्राष्ट्रिय सफारी कम्पनीमार्फत अमेरिका, डेनमार्क, बेल्जियम, फ्रान्स, रुस तथा अन्य देशका नागरिकहरू सिकारका लागि आरक्षमा आएका छन् भने केही सिकारी अझै नेपाल आउने क्रममा छन्।

ढोरपाटनका विभिन्न सिकार ब्लकहरूमा सिकारीहरू सक्रिय रहेका छन्। केहीले सिकार सम्पन्न गरिसकेका छन् भने केही अझै प्रक्रियामा छन्। तोकिएको नियमअनुसार प्रत्येक टोलीले सीमित अवधिभित्र निर्दिष्ट क्षेत्रमा मात्र सिकार गर्न पाउने व्यवस्था रहेको छ।

सिकार गतिविधिका क्रममा आरक्षका कर्मचारी र नेपाली सेना पनि खटिएका छन्। २०७३ सालदेखि नेपाली सेनाले आरक्षको सुरक्षा जिम्मेवारी सम्हाल्दै आएको छ। सिकारीहरू प्रायः हेलिकोप्टरमार्फत सिधै सिकार क्षेत्रसम्म पुग्ने गरेका छन् र जङ्गलमै बसोबास गर्दै निर्धारित समयमा सिकार गर्छन्।

ढोरपाटन आरक्ष साहसिक सिकार अनुभवका लागि विदेशी पर्यटकको रोजाइमा पर्ने गन्तव्य बन्दै गएको छ। एक जना सिकारीले सिकार अनुमति, लाइसेन्स, हेलिकोप्टर तथा अन्य बन्दोबस्तीमा करिब ३० देखि ३५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्।

यसअघि सम्पन्न पहिलो सिकार यामबाट तीन करोडभन्दा बढी राजस्व संकलन भएको थियो भने दोस्रो यामबाट पनि उल्लेख्य आम्दानी हुने अपेक्षा गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रत्येक याममा विद्युतीय बोलपत्रमार्फत सिकारको कोटा र शुल्क निर्धारण गर्दै आएको छ।

२०४४ सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लामा फैलिएको छ। तर यसको मुख्य प्रशासनिक केन्द्र भने बागलुङकै ढोरपाटन उपत्यकामा रहेको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.