सेतीको भेलमा हराउँदै गरेको त्यो कुकुर: भाइरल भिडियोपछि बझाङमा प्रहरी अनुसन्धान
बझाङ ।
सेती नदी उर्लिरहेको थियो। पुलमाथि मानिसहरू आवतजावत गरिरहेका थिए। त्यही बेला एक महिलाले खैरो रङको कुकुरलाई पुलको किनारतर्फ लगिन्।
कुकुर आफूलाई बचाउन खोजिरहेको थियो।
महिलाको हातबाट उम्किन खोज्दै गरेको कुकुर केही क्षण संघर्ष गर्छ। तर, उसको प्रयास सफल हुँदैन। अन्ततः ती महिलाले कुकुरलाई पुलबाट तल उर्लिरहेको सेती नदीमा खसालिदिन्छिन्।
नदीमा खसेपछि पनि कुकुरले हार मानेको देखिँदैन। केहीबेर पानीमाथि टाउको निकाल्दै बाँच्ने प्रयास गर्छ। तर सेतीको तीव्र बहावले उसलाई बगाउँदै लैजान्छ।
यही दृश्य अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको भिडियोमा देखिन्छ। भिडियो सार्वजनिक भएपछि घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया आएको छ।
भिडियो भाइरल भएपछि प्रहरीको ध्यानाकर्षण
प्रहरीका अनुसार कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका-३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकायालाई नियन्त्रणमा लिइएको हो। उनले कुकुरलाई किन फालिन भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
नेपालको मुलुकी अपराध संहिता, २०७४ ले पशुपन्छीमाथि निर्दयी वा क्रूर व्यवहारलाई कसुरका रूपमा सम्बोधन गरेको छ। वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार यस्तो कसुर प्रमाणित भएमा तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
तर अहिलेको मुख्य प्रश्न भनेको त्यो भिडियोमा देखिएको घटना वास्तवमा कहिले र किन भयो, कुकुरको अवस्था के भयो र घटनामा संलग्न व्यक्तिको भूमिका के थियो भन्ने हो।
सेतीको भेलमा हराउँदै गरेको एउटा कुकुरको भिडियोले अहिले बझाङबाट एउटा ठूलो प्रश्न उठाएको छ—मानिससँगै बाँचिरहेका निरीह पशुप्रति हाम्रो जिम्मेवारी कहाँबाट सुरु हुन्छ?
सम्बन्धित घटनामा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ।