AgriVet Sanchar

अस्ट्रेलियाको भिक्टोरियामा पहिलो पटक भेटियो ‘H5N1’ बर्ड फ्लु

 —अष्ट्रेलिया—

एउटा नदेखिएकाे खतराको पदचाप

अष्ट्रेलिया को भिक्टोरिया राज्यमा पहिलोपटक घातक मानिने H5N1 बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ।राज्यको दक्षिण–पश्चिमी क्षेत्र पोर्टल्यान्ड नजिक फेला परेको यो भाइरस ग्रेटर क्रेस्टेड टर्न नामक समुद्री चरामा पुष्टि भएको हो।

संक्रमण पुष्टि भएसँगै भिक्टोरियाली अधिकारीहरूले ‘स्टेट इमर्जेन्सी एनिमल डिजिज रेस्पोन्स प्लान’ लागू गरेका छन्। भाइरस थप फैलिन नदिन र यसको आनुवंशिक स्वरूप पहिचान गर्न वैज्ञानिक परीक्षण र निगरानीको काम तीव्र पारिएको छ।

वर्षौँदेखि विश्वका धेरैजसो महादेशहरू H5N1 को आतङ्कबाट प्रताडित थिए। युरोप, अमेरिका र एसियाका आकाशमा लाखौँ प्रवासी चराहरू यसै भाइरसका कारण उड्दै गर्दा खसेका थिए; यहाँसम्म कि सिल र सी-लायनजस्ता समुद्री जीवहरूलाई पनि यसले छाडेको थिएन। अष्ट्रेलिया भने एक प्रकारले यसबाट जोगिँदै आएको ‘सुरक्षित टापु’ बनेको थियो।

तर, प्रकृतिको सीमा हुँदैन। हजारौँ किलोमिटर पार गरेर आउने प्रवासी चराहरू को पखेटासँगै यो सूक्ष्म तर भयानक भाइरस अष्ट्रेलियाली भूभागमा पनि अवतरण भयो। भिक्टोरियाअघि नै पश्चिमी अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया, न्यू साउथ वेल्स र क्विन्सल्यान्डका तटीय क्षेत्रहरूमा यो भाइरसले आफ्नो उपस्थिति जनाइसकेको थियो।

पोर्टल्यान्डको त्यो एउटा समुद्री चराको मृत्युले अब स्पष्ट पारिदियो—यो भाइरस अष्ट्रेलियाको भित्री भूगोलसम्म फैलिसकेको छ।

आपतकालीन चेतावनी र वैज्ञानिकहरूको दौडधुप

घटना पुष्टि हुनासाथ भिक्टोरियाली सरकारले तत्काल ‘स्टेट इमर्जेन्सी एनिमल डिजिज रेस्पोन्स प्लान’ (राज्य आपतकालीन पशु रोग प्रतिकार योजना) लागू गर्‍यो। जैविक सुरक्षा निकायका टोलीहरू पोर्टल्यान्डका तटीय क्षेत्रमा खटिएका छन्। वैज्ञानिकहरू भाइरसको आनुवंशिक संरचना बुझ्न रातदिन प्रयोगशालामा जुटिरहेका छन्—ताकि यो भाइरस कति छिटो र कुन रूपमा बदलिरहेको छ भन्ने पत्ता लगाउन सकियोस्।

प्रशासनले सर्वसाधारणलाई कडा चेतावनी जारी गरेको छ:

“समुद्रकिनार वा जङ्गलमा कुनै बिरामी वा मरेको चरा भेटिएमा गल्तीले पनि नछुनू। नजिक नजानू, तुरुन्तै पशुपन्छी स्वास्थ्य विभागमा खबर गर्नु।”

व्यावसायिक कुखुरा फार्म र घरपालुवा चरा पाल्ने किसानहरूलाई पनि उच्च जैविक सुरक्षा  अपनाउन भनिएको छ।

मानव स्वास्थ्य र भोलिको चिन्ता

स्वास्थ्य विज्ञहरूका अनुसार मानिसका लागि भने यो भाइरसको खतरा हाललाई एकदमै न्यून छ। अझैसम्म यो भाइरस कुनै पनि व्यावसायिक कुखुरा फार्ममा पस्न पाएको छैन। त्यसैले बजारमा पाइने मासु वा अण्डा राम्ररी पकाएर खाँदा डराउनुपर्ने अवस्था छैन।

तर, कथाको दुःखद पाटो भने अर्कै छ। अष्ट्रेलियाका कतिपय दुर्लभ समुद्री चरा र संकटापन्न प्रजातिहरू, जुन संसारको अन्य कुनै भागमा पाइँदैनन्, उनीहरूका लागि यो भाइरस महामारी बन्ने खतरा बढेको छ।

पोर्टल्यान्डको त्यो सानो समुद्री चराको अन्त्यले मानिसहरूलाई एउटा कठोर सत्य सम्झाएको छ—प्रकृतिमा आउने एउटा सूक्ष्म परिवर्तनले पनि सिङ्गो पारिस्थितिक प्रणाली (Ecosystem) लाई कसरी हल्लाइदिन सक्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.