पाँचथर — पाँचथर जिल्लाका फाल्गुनन्द गाउँपालिका, हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा रेबिज संक्रमणको जोखिम बढ्दै गएको छ। सामुदायिक कुकुरको टोकाइपछि गाई, भैंसी, राँगा, बाख्रालगायतका पशुमा संक्रमण फैलिएको देखिएको छ। हालसम्म १५ भन्दा बढी पशु मरेका छन् भने दर्जनौं पशुमा रेबिजसँग मिल्ने लक्षण देखिएपछि स्थानीय प्रशासन र पशु स्वास्थ्य निकाय सतर्क बनेका छन्।
फाल्गुनन्द गाउँपालिकाको पशु सेवा शाखाका अनुसार पछिल्ला केही दिनमा विभिन्न वडाका किसानले पालेका गाई, भैंसी, राँगा र बाख्रा मरेका छन्। संक्रमणका कारण पशु गुमाउनुपरेपछि किसान आर्थिक तथा मानसिक रूपमा प्रभावित भएका छन्। धेरैजसो पशुको बजार मूल्य एक लाख रुपैयाँभन्दा माथि रहेकाले क्षति ठूलो भएको स्थानीयको भनाइ छ।
गाउँपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार फाल्गुनन्दका वडा नं. १, २, ५, ६ र ७ मा कुकुरले टोकेका करिब ५६ पशुमा रेबिजका लक्षण देखिएका छन्। प्रारम्भिक परीक्षण गरिएका अधिकांश नमुनामा संक्रमण पुष्टि भइसकेको छ भने केही नमुनाको प्रयोगशाला परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ।
विशेषगरी इम्बुङ, फाक्तेप, मेहेलबोटे, पिपलबोटे र आङसराङ क्षेत्रलाई उच्च जोखिममा राखिएको छ। केही स्थानमा बाहिरबाट आएको शंकास्पद कुकुरले एकैपटक धेरै पशुलाई टोकेपछि संक्रमण फैलिएको अनुमान गरिएको पशु स्वास्थ्य प्राविधिकहरूले बताएका छन्।
यता हिलिहाङ गाउँपालिकामा पनि रेबिजको शंका गरिएका खसी–बोकाको मृत्यु भएपछि गरिएको परीक्षणले संक्रमण पुष्टि गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। सामुदायिक कुकुर बस्तीभित्र प्रवेश गरेर पशुसँगै मानिसलाई समेत टोक्ने घटना बढ्दै गएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।
यसैबीच फिदिम बजारमा शनिबार साँझ एउटा शंकास्पद कुकुरले करिब एक घण्टाको अवधिमा एक बालिका, ४० वटा अन्य कुकुर र एउटा भैंसीलाई टोकेको घटना सार्वजनिक भएको छ। नगरपालिकाले उक्त कुकुरलाई नियन्त्रणमा लिएर निगरानीमा राखेको थियो। पछि कुकुर मरेपछि गरिएको प्रारम्भिक परीक्षणमा रेबिज संक्रमण पुष्टि भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जानकारी दिएको छ।
संक्रमणको जोखिम बढेसँगै प्रभावित स्थानीय तहहरूले उच्च सतर्कता अपनाएका छन्। पशुमा असामान्य व्यवहार, अत्यधिक आक्रामकपन, र्याल बग्ने वा पानी देखेर डराउनेजस्ता लक्षण देखिए तत्काल सम्बन्धित पशु सेवा शाखा, भेटेरेनरी अस्पताल वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।
स्थानीय सरकारले घरपालुवा कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउन, पशुहरूलाई खुला रूपमा नछोड्न तथा स्वास्थ्य परीक्षण नियमित गराउन पशुपालकसँग अनुरोध गरेको छ। सम्बन्धित निकायले समयमै सावधानी अपनाए संक्रमणको थप फैलावट रोक्न सकिने विश्वास व्यक्त गरेका छन्।