AgriVet Sanchar

नेपाली चियाको ‘अर्गानिक’ यात्रा : प्रमाणीकरणमा लाखौँ खर्च, प्रयोगशाला अझै विदेशमा

इलाम — नेपाली चियालाई ‘अर्गानिक’ भनेर अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन किसान र उद्योगीले उत्पादनसँगै प्रमाणीकरणमा पनि ठूलो रकम खर्च गर्नुपरेको छ। देशभित्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण तथा प्रमाणीकरण प्रयोगशाला नहुँदा विदेशी संस्थामाथिको निर्भरता बढेको हो।

नेपाली चियाको अर्गानिक अवस्था पुष्टि गर्न अन्तर्राष्ट्रिय संस्थाका निरीक्षण टोलीले चिया बगानमै पुगेर उत्पादन प्रणाली, खेती विधि तथा अन्य पक्षको अध्ययन गर्ने गरेका छन्। प्रमाणीकरणका लागि वर्षमा तीन–चार पटकसम्म निरीक्षण हुन सक्ने र त्यसको खर्चसमेत सम्बन्धित उद्योग वा किसानले नै बेहोर्नुपर्ने चिया व्यवसायीहरूको भनाइ छ।

अर्गानिक प्रमाणीकरण एकै वर्षमा पूरा हुने प्रक्रिया पनि होइन। सम्बन्धित संस्थाले बगानको उत्पादन प्रणालीलाई लगातार तीनदेखि चार वर्षसम्म अनुगमन गरेपछि मात्रै प्रमाणीकरण गर्ने गरेका छन्। प्रमाणपत्र प्राप्त गरिसकेपछि पनि प्रत्येक वर्ष पुनः निरीक्षण र नवीकरण गर्नुपर्ने भएकाले यसको आर्थिक भार निरन्तर रहने गरेको छ।

केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईका अनुसार प्रमाणीकरण प्रक्रिया जटिल र महँगो भएकै कारण धेरै नेपाली चिया उद्योग अर्गानिक प्रमाणीकरणको प्रक्रियामा जान सकेका छैनन्। उनका अनुसार नेपालमै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने प्रयोगशाला स्थापना गरी प्रमाणीकरणको व्यवस्था गर्न सके नेपाली चिया उद्योगले ठूलो राहत पाउनेछ।

इलामका चिया उद्योगहरूले मात्रै अर्गानिक प्रमाणीकरणका लागि वार्षिक करिब ८ लाखदेखि ३२ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका छन्। प्रमाणीकरणपछि नेपाली चिया जर्मनी, रुस, फ्रान्स, नेदरल्यान्ड्स, अमेरिका, बेल्जियमलगायत युरोपेली मुलुकका साथै चीनसम्म निर्यात हुने गरेको छ।

इलामका गोर्खा टी स्टेट, जसबिरे चिया उद्योग, तीनजुरे चिया सहकारी, उच्च पहाडी चिया सहकारीलगायतका उद्योगले उत्पादन गर्ने ‘स्पेस्यालिटी टी’ ले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो पहिचान बनाएको छ। विगतमा विभिन्न अन्तर्राष्ट्रिय चिया प्रदर्शनीमा नेपाली चियाले स्वर्ण पदकसमेत प्राप्त गरेको व्यवसायीहरू बताउँछन्। नेपाली चियाको स्वाद र सुगन्ध विदेशी उपभोक्तामाझ आकर्षणको विषय बनेको उनीहरूको दाबी छ।

तर गुणस्तरीय उत्पादन हुँदाहुँदै पनि सरकारी लगानी, प्राविधिक सहयोग र परीक्षण पूर्वाधारको अभाव नेपाली चिया क्षेत्रका प्रमुख चुनौती बनेका छन्। गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले वर्षौंदेखि अर्गानिक उत्पादनमा लगानी गर्दै आएको उल्लेख गर्दै नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना हुने विषयमा आशावादी रहेको बताउनुभएको छ।

प्रयोगशाला परीक्षणकै विषयलाई लिएर भारतले गत मे महिनामा नेपाली चिया आयातमा कडाइ गरेपछि निर्यात करिब २२ दिन प्रभावित भएको थियो। त्यसपछि इलामको माइपूर्व क्षेत्रका उद्योगहरूले गुणस्तर सुधारमा थप जोड दिँदै ‘दुई पात एक सुइरो’ चिया उत्पादनलाई प्राथमिकता दिन थालेका छन्।

गुणस्तर सुधारसँगै किसानले पाउने मूल्यमा पनि वृद्धि भएको बताइएको छ। स्थानीय उद्योगहरूले हाल किसानबाट हरियो चियापत्ती प्रतिकिलो करिब ५० देखि ६० रुपैयाँ मा खरिद गरिरहेका छन्। सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार किसानले पहिलेको तुलनामा राम्रो गुणस्तरको चिया उत्पादन गर्न थालेका छन्।

व्यवसायीहरूको माग स्पष्ट छ—नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गरी अर्गानिक प्रमाणीकरणको प्रक्रिया सरल, विश्वसनीय र कम खर्चिलो बनाइनुपर्छ। यस्तो व्यवस्था भए नेपाली चिया उद्योग पूर्ण अर्गानिक उत्पादनतर्फ अघि बढ्न तयार रहेको उनीहरूको भनाइ छ।

प्रधानमन्त्री वालेन्द्र शाहले साउन ८ गते ‘अर्गानिक एसोसिएसन नेपाल’ का प्रतिनिधिसँग छलफल गर्दै नेपालमै अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको थियो। अब चुनौती निर्देशनलाई व्यवहारमा उतार्दै आवश्यक प्रयोगशाला, जनशक्ति र अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्नु हो।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.