बर्दिया, साउन १६ — बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–६ स्थित असारेगौडी नजिक गेरुवा नदीको बीच भागमा एक वयस्क गैँडा मृत अवस्थामा फेला परेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार मृत गैँडा करिब २१ वर्ष उमेरको भाले रहेको प्रारम्भिक अनुमान गरिएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा अर्को गैँडासँगको जुधाइका कारण यसको मृत्यु भएको हुन सक्ने निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेका अनुसार मृत गैँडाको खाग सुरक्षित अवस्थामा फेला परेको छ। घटनाको यथार्थ कारण भने पोस्टमार्टम प्रतिवेदन आएपछि मात्र पुष्टि हुने उहाँले जानकारी दिनुभयो।
स्थानीय बासिन्दाले नदीमा गैँडा मृत अवस्थामा देखेपछि बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए। त्यसपछि निकुञ्जका कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली घटनास्थल पुगेर पोस्टमार्टम तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइरहेको छ।
निकुञ्जले पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारणबारे विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ।