AgriVet Sanchar

राष्ट्रिय बाघ सर्वेक्षण : नेपालमा बाघको संख्या ४२९ पुग्यो, नदी किनारका वन क्षेत्रमा बढी उपस्थिति

काठमाडौं — नेपालमा बाघ संरक्षण अभियानले उल्लेखनीय सफलता हासिल गरेको देखिएको छ। हालै सार्वजनिक गरिएको ‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ ले देशभर बाघको संख्या बढेर ४२९ पुगेको पुष्टि गरेको छ। अघिल्लो गणनामा ३५५ रहेको संख्या उल्लेखनीय रूपमा वृद्धि हुनु संरक्षण प्रयासको सकारात्मक उपलब्धि मानिएको छ।

सर्वेक्षणले बाघको बसोबास सम्बन्धी केही नयाँ तथ्य पनि उजागर गरेको छ। अध्ययनअनुसार बाघहरू विशेषगरी नदी किनारका वन क्षेत्रमा बढी केन्द्रित भएका छन्। चितवनको राप्ती नदी आसपास र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र बाघको सबैभन्दा सक्रिय वासस्थानका रूपमा पहिचान भएका छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार मानव गतिविधि कम हुने र प्राकृतिक वातावरण सुरक्षित रहेका क्षेत्र बाघका लागि अनुकूल देखिएका छन्। विपरीत, वन अतिक्रमण, बढ्दो आवतजावत तथा मानवीय हस्तक्षेप भएका स्थानमा बाघको उपस्थिति तुलनात्मक रूपमा कम भेटिएको उनले बताए।

यसपटकको गणनामा सबैभन्दा धेरै १४५ बाघ चितवन राष्ट्रिय निकुञ्जमा अभिलेख गरिएको छ। त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ रहेको तथ्यांकले देखाएको छ।

सर्वेक्षणले बाघको आहारा प्रणालीबारे पनि जानकारी दिएको छ। अध्ययनअनुसार चित्तल बाघको मुख्य आहारा प्रजातिका रूपमा रहेको छ। त्यसपछि जरायो, बाह्रसिङ्गे, बँदेल, लगुना र रतुवा मृगजस्ता वन्यजन्तु प्रमुख आहारा सूचीमा परेका छन्। यसले संरक्षित क्षेत्रभित्र आहारा प्रजातिको अवस्था पनि सन्तोषजनक रहेको संकेत गरेको छ।

यस वर्षको अध्ययनले बाघको चलायमान व्यवहारबारे समेत नयाँ तथ्य सार्वजनिक गरेको छ। अनुसन्धानका क्रममा एउटा भाले बाघ चितवनको कसराबाट पर्साको अमलेखगञ्जसम्म करिब एक महिनाको अवधिमा पुगेको अभिलेख गरिएको छ। विज्ञहरूका अनुसार यस्तो लामो दूरीको यात्रा क्षेत्रीय प्रतिस्पर्धा वा प्रजननका लागि पोथीको खोजीसँग सम्बन्धित हुन सक्छ।

लिङ्गगत वितरणतर्फ हेर्दा सर्वेक्षणमा करिब ५३ प्रतिशत पोथी र ३४ प्रतिशत भाले बाघ पहिचान भएका छन्। बाँकी तस्बिरको गुणस्तर वा अन्य कारणले स्पष्ट छुट्याउन नसकिएको विभागले जनाएको छ।

नेपालले सन् २००९ देखि प्रत्येक चार वर्षमा राष्ट्रिय बाघ गणना गर्दै आएको छ। तथ्यांकअनुसार सन् २०१० मा १२१ बाघ रहेको नेपालमा २०१४ मा १९८, २०१८ मा २३५, २०२२ मा ३५५ र अहिले ४२९ बाघ पुगेका छन्। निरन्तर बढ्दो संख्या संरक्षण कार्यक्रमको प्रभावकारिताको संकेत मानिएको छ।

संरक्षण साझेदार संस्था जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले बाघको संख्या वृद्धि हुनु वासस्थान संरक्षण, चोरी–सिकार नियन्त्रण, जैविक मार्ग व्यवस्थापन तथा आहारा प्रजाति संरक्षणमा गरिएको दीर्घकालीन प्रयासको परिणाम भएको बताए। उनका अनुसार यो तथ्यांकले आगामी संरक्षण नीति र व्यवस्थापन योजना तयार गर्न वैज्ञानिक आधारसमेत उपलब्ध गराउनेछ।

उनले बाघको संख्या बढ्दै जाँदा मानव–बाघ द्वन्द्व न्यूनीकरणलाई पनि समान प्राथमिकता दिनुपर्नेमा जोड दिए। स्थानीय समुदायका लागि वैकल्पिक आयआर्जनका अवसर सिर्जना, जनचेतना अभिवृद्धि तथा सहअस्तित्वको अवधारणालाई व्यवहारमा लागू गर्नु आवश्यक रहेको उनको भनाइ छ।

वन तथा वातावरण मन्त्रालयले आगामी दिनमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य गर्दै बाघ संरक्षणलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ। मन्त्रालयका अनुसार समस्याग्रस्त बाघको समयमै व्यवस्थापन, संरक्षण सचेतना विस्तार, समुदायको प्रत्यक्ष सहभागिता तथा बाघमा आधारित पर्यापर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिनेछ।

वनमन्त्री गीता चौधरीले बाघ संरक्षणलाई केवल जैविक विविधताको विषय नभई स्थानीय आर्थिक विकाससँग जोडिएको अभियानका रूपमा अगाडि बढाइने बताइन्। उनका अनुसार संरक्षणबाट पर्यटन, रोजगारी र स्थानीय आयआर्जन बढाउने दिशामा सरकार प्रतिबद्ध छ।

हाल नेपालमा बाघ पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै आसपासका वन क्षेत्रमा पाइन्छ। विश्वभर भने बाघ नेपालसहित भारत, चीन, भूटान, बङ्गलादेश, रसिया, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, म्यान्मार, कम्बोडिया, लाओस र भियतनामलगायत १३ एसियाली मुलुकमा मात्र सीमित छन्।

अन्तर्राष्ट्रिय तथ्यांकअनुसार सन् २०१० मा विश्वभर करिब ३,२०० बाघ रहेको अनुमान गरिएकामा सन् २०२५ सम्म आइपुग्दा यो संख्या बढेर ५,३५७ पुगेको छ। नेपालको पछिल्लो उपलब्धिले विश्वव्यापी बाघ संरक्षण अभियानमा पनि सकारात्मक योगदान पुर्‍याएको विज्ञहरूको निष्कर्ष छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.