काठमाडौं, भदौ ३१ गते । चाडपर्व नजिकिएसँगै उपभोक्ताको खरिद गतिविधि बढ्न थालेको बेला बजारमा दैनिक उपभोग्य खाद्यवस्तुको मूल्य उकालो लागेको छ। चामल, दाल, चिनी, खानेतेल तथा विभिन्न गेडागुडीको मूल्यमा पछिल्लो समय वृद्धि देखिएको व्यवसायी तथा सम्बन्धित निकायले जनाएका छन्।
बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा अवरोध सिर्जना हुँदा सामान ढुवानी प्रभावित भएको छ। यसले ढुवानी खर्च बढाएको र त्यसको प्रत्यक्ष असर खुद्रा बजारसम्म पुगेको बताइएको छ।
ढुवानी महँगिँदा खाद्यान्नको मूल्यमा दबाब
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार सडक अवरोध र ढुवानीमा आएको कठिनाइ खाद्यान्नको मूल्य वृद्धिको प्रमुख कारणमध्ये एक हो।
उनका अनुसार पछिल्लो समय चामल, चिनी, खानेतेल र गेडागुडीको मूल्य सामान्य रूपमा बढेको छ। विशेषगरी चामलको मूल्य प्रतिकिलो करिब १५ देखि २० रुपैयाँसम्म बढेको विभागको भनाइ छ।
कृष्णभिर क्षेत्रमा गएको पहिरो पूर्ण रूपमा हटाएर यातायात सहज भए ढुवानी खर्च पनि कम हुन सक्ने र त्यसपछि बजार मूल्यमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।
चिनीको मूल्य पनि उकालो
बजारमा चिनीको मूल्यसमेत बढेको देखिएको छ। केही समयअघि प्रतिकिलो ८० देखि ९० रुपैयाँको हाराहारीमा पाइने चिनीको मूल्य अहिले उद्योग तथा थोक बजारमै बढेको विभागले जनाएको छ।
उद्योगबाट करिब १०० देखि १०८ रुपैयाँसम्ममा बिक्री भइरहेको चिनी थोक बजारमा महँगो मूल्यमा खरिद–बिक्री हुँदा उपभोक्तासम्म पुग्दा मूल्य अझ बढेको बताइएको छ। बजारमा थोक व्यापारीले करिब १२० रुपैयाँमा खरिद गरेको चिनी १३० रुपैयाँसम्ममा बिक्री भइरहेको जानकारी विभागले पाएको छ।
चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन
चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अस्वाभाविक रूपमा मूल्य बढाउने जोखिमलाई ध्यानमा राख्दै विभागले बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ।
विभिन्न टोली परिचालन गरेर पसल तथा व्यवसायिक प्रतिष्ठानमा सामान खरिद गरेको मूल्य, बिक्री मूल्य र बिलबिजकको जाँच भइरहेको सूचना अधिकारी किरातीले बताए।
उनका अनुसार कुनै व्यवसायीले अनुचित रूपमा बढी मूल्य असुलेको पाइएमा उपभोक्ताले विभागको टोलफ्री नम्बर ११३७ मा जानकारी वा उजुरी दिन सक्नेछन्। उनले चाडपर्वका नाममा आवश्यकताभन्दा बढी खाद्यान्न सञ्चय नगर्न पनि उपभोक्तालाई आग्रह गरेका छन्।
भारतीय बजारको मूल्य वृद्धिको प्रभाव नेपालमा
साल्ट ट्रेडिङ कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानका अनुसार नेपालको खाद्यान्न बजार विशेषगरी चामलका लागि भारतीय आपूर्तिमा धेरै हदसम्म निर्भर छ। त्यसैले भारतमा चामलको मूल्य बढ्दा नेपाली बजारमा पनि त्यसको प्रभाव देखिनु स्वाभाविक भएको उनको भनाइ छ।
उनका अनुसार सडकको अवस्था बिग्रिँदा पहिले ठूलो क्षमताका सवारीसाधनबाट ढुवानी हुने सामान अहिले साना क्षमताका गाडीमार्फत ढुवानी गर्नुपर्ने अवस्था आएको छ। उदाहरणका लागि, करिब २० टन सामान बोक्ने सवारीको सट्टा १० टन क्षमताका गाडी प्रयोग गर्नुपर्दा ढुवानी खर्च बढेको छ।
कतिपय अवस्थामा ढुवानी भाडासमेत अस्वाभाविक रूपमा बढाइएको व्यवसायीको गुनासो छ। कृष्णभिरको सडक दुईतर्फी रूपमा सहज सञ्चालन भएपछि ढुवानी खर्च घट्ने र त्यसको सकारात्मक प्रभाव खाद्यान्नको मूल्यमा पनि पर्न सक्ने प्रधानले बताए।
सहुलियत पसल सञ्चालनको तयारी
चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङले यस वर्ष पनि विभिन्न स्थानमा सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ। सहुलियत पसल सञ्चालनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।
हाल पनि साल्ट ट्रेडिङका विभिन्न शाखाबाट चामल, दाल, चिनी, खानेतेल र गेडागुडी बिक्री भइरहेको छ। उपभोक्ताले ती बिक्री केन्द्रबाट तुलनात्मक रूपमा सहुलियत मूल्यमा खाद्यान्न खरिद गर्न सक्ने कर्पोरेसनले जनाएको छ।
साल्ट ट्रेडिङका अनुसार बजारमा चामलको मूल्य बढे पनि अत्यधिक वृद्धि भएको अवस्था भने छैन। कर्पोरेसनबाट बासमती चामल प्रतिबोरा ३ हजार ५५० देखि ३ हजार ६६० रुपैयाँसम्म तथा जिरा मसिनो चामल प्रतिबोरा २ हजार ५५० देखि २ हजार ६०० रुपैयाँसम्म बिक्री भइरहेको बताइएको छ।
खुद्रा बजारमा प्रतिबोरासम्म २०० रुपैयाँ वृद्धि
काठमाडौंका विभिन्न क्षेत्रमा खाद्यान्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीका अनुसार ढुवानी समस्या र बढ्दो मागका कारण बजार मूल्यमा परिवर्तन देखिएको छ।
शुभम होलसेलका सञ्चालक सुदीप अधिकारीका अनुसार मोटा चामलको मूल्य प्रतिबोरा करिब १५० देखि २०० रुपैयाँसम्म बढेको छ। त्यसैगरी, सनफ्लावर तेलको एक कार्टुनको मूल्यमा पनि पछिल्लो करिब १५ दिनमा २०० रुपैयाँसम्म अन्तर परेको उनले बताए।
उनका अनुसार सडक अवस्था सहज भएपछि मूल्य घट्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै व्यवसायीहरूले अत्यधिक मौज्दात राख्न चाहेका छैनन्। अहिले धेरै पसलमा करिब एक सातासम्म पुग्ने खाद्यान्न मौज्दात रहेको बताइएको छ।
महँगीले उपभोक्ताको बजेट प्रभावित
बढ्दो मूल्यले चाडपर्वको तयारीमा रहेका उपभोक्ताको खर्चसमेत बढाएको छ। काठमाडौंकी उपभोक्ता मञ्जु श्रेष्ठ ले अघिल्लो समयको तुलनामा अहिले चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको अनुभव गरेको बताइन्।
उनका अनुसार केही समयअघि करिब १ हजार ७०० रुपैयाँमा पाइने एक बोरा चामल अहिले २ हजार २०० रुपैयाँसम्म पर्न थालेको छ। खानेतेलको एक कार्टुनमा पनि करिब २०० रुपैयाँसम्म मूल्य अन्तर देखिएको उनको भनाइ छ।
चाडपर्वका लागि खाद्यान्न तथा अन्य आवश्यक सामग्री एकैपटक खरिद गर्नुपर्ने समयमा मूल्य वृद्धि हुँदा मध्यम तथा न्यून आय भएका परिवारमाथि थप आर्थिक दबाब परेको उपभोक्ताहरूको गुनासो छ।
सडक तथा ढुवानीको अवस्था सुधार हुँदै गएमा ढुवानी खर्च घट्ने र बजार मूल्यमा पनि केही राहत पुग्ने अपेक्षा गरिएको छ। तर, चाडपर्व नजिकिँदै जाँदा माग निरन्तर बढ्ने भएकाले बजार मूल्य कस्तो अवस्थामा पुग्छ भन्ने विषयमा उपभोक्ता र व्यवसायी दुवैको चासो बढेको छ।