रौतहटमा। स्वदेशमै उत्पादित ब्रोइलर कुखुरा बोकेर बजारतर्फ जाँदै गरेका तीनवटा पिकअपलाई सशस्त्र प्रहरीले भारतीय कुखुरा भन्दै नियन्त्रणमा लिएपछि किसान तथा व्यवसायीले आपत्ति जनाएका छन्। आवश्यक कागजातसहित ढुवानी भइरहेको कुखुरा नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाइएको थियो। कागजात परीक्षणपछि भन्सारले भने तीनवटै गाडीमा रहेका कुखुरा सम्बन्धित किसान तथा व्यवसायीलाई फिर्ता गरेको छ।
शनिबार साँझ परोहा नगरपालिका–९ स्थित अरमान एग्रो पोल्ट्री फार्मबाट ब्रोइलर कुखुरा लिएर बजारतर्फ निस्किएका तीनवटा पिकअपलाई सशस्त्र प्रहरीले रोकेको थियो। प्रहरीले बागमती प्रदेश ०१–०२७ च ८४८३, ना ५ च १८९८ र प्रदेश २–०३–००१ च ०६७७ नम्बरका गाडी नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाएको थियो।
गाडीमा रहेको कुखुरा भारतबाट ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको बताइएको छ। तर, सम्बन्धित किसान तथा व्यवसायीले भने कुखुरा रौतहटमै रहेको अरमान एग्रो पोल्ट्री फार्ममा उत्पादन भएको भन्दै त्यसको पुष्टि हुने कागजात भन्सारमा पेस गरेका थिए।
फर्म दर्ता, अनलाइन इन्ट्री, चल्ला खरिदको बिल, दाना खरिदको बिल र भेटेरिनरी प्रमाणपत्रलगायतका कागजात परीक्षण गरेपछि भन्सार कार्यालयले कुखुरा स्वदेशमै उत्पादित भएको पुष्टि गरेको थियो। त्यसपछि आइतबार दिउँसो तीनवटै गाडीमा रहेका कुखुरा सम्बन्धित किसान तथा व्यवसायीलाई फिर्ता गरिएको हो।
तर, नियन्त्रणमा लिएर भन्सारसम्म पुर्याउँदासम्म किसानले अर्को क्षति बेहोर्नुपरेको बताएका छन्। उनीहरूका अनुसार गाडीको माथिल्लो तहमा राखिएका सयौँ कुखुरा बाटोमै हराएका छन्। लामो समयसम्म गाडी र कुखुरालाई नियन्त्रणमा राखिँदा जीवित कुखुरा मर्ने वा कमजोर भएर नोक्सान हुने जोखिमसमेत रहेको उनीहरूको भनाइ छ।
घटनापछि भारतीय कुखुराको अवैध आयात नियन्त्रणको माग गर्दै आन्दोलनमा रहेका रौतहटका किसान थप आक्रोशित भएका छन्। उनीहरूले वास्तविक रूपमा भारतबाट भित्रिने अवैध कुखुरा रोक्नुको सट्टा नेपाली किसानले उत्पादन गरेको कुखुराको ढुवानीमै अवरोध गरिएको आरोप लगाएका छन्।
रौतहटका कुखुरापालक किसानले केही दिनयता जिल्लाका विभिन्न सीमावर्ती नाकाबाट भारतीय कुखुरा निर्वाध रूपमा नेपाल भित्रिरहेको आरोप लगाउँदै आएका छन्। सीमामा खटिएका सुरक्षाकर्मीकै मिलेमतोमा भारतीय कुखुरा नेपाली बजारसम्म पुग्ने गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्रसमेत बुझाइसकेका छन्।
किसानहरूले भारतीय कुखुराको अवैध आयातका कारण नेपाली उत्पादनको बजार खस्किएको र आफूहरूको लगानी जोखिममा परेको बताउँदै आएका छन्। जिल्लाका किसानले अवैध आयात रोक्न माग गर्दै करिब तीन सातादेखि आन्दोलन गरिरहेको जिल्ला कुखुरा व्यावसायिक किसान संघले जनाएको छ।
संघका सचिव राधेश्याम साहले नेपालमै लगानी गरेर उत्पादन गरिएको कुखुरा आवश्यक कागजातसहित ढुवानी भइरहेका बेला त्यसलाई भारतीय भन्दै नियन्त्रणमा लिनु दुःखद भएको बताए।
‘वास्तविक तस्करी नियन्त्रण गर्नुको सट्टा स्वदेशी किसान तथा व्यवसायीलाई दुःख दिने काम भइरहेको छ,’ साहले भने, ‘कानुनी कागजात हुँदाहुँदै पनि कुखुरा नियन्त्रणमा लिइएको थियो।’
किसानहरूका अनुसार कुखुरा उत्पादनदेखि बजारसम्म पुर्याउँदा फर्म दर्तादेखि चल्ला, दाना र भेटेरिनरीसम्बन्धी आवश्यक कागजात साथमा राख्ने गरिएको छ। त्यस्ता कागजात हुँदाहुँदै पनि शंका लागेकै भरमा कुखुरा नियन्त्रणमा लिँदा उत्पादन लागत र बजार व्यवस्थापन दुवैतर्फ किसानलाई थप समस्या पर्ने उनीहरूको भनाइ छ।
व्यवसायीहरूले नियन्त्रणमा लिइएका कुखुरा लामो समयसम्म राख्दा मरेमा वा नष्ट भए त्यसबाट हुने क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्नसमेत उठाएका छन्। लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरिएको कुखुरा ढुवानीका क्रममा रोकिनु आफैंमा किसानका लागि ठूलो जोखिम भएको उनीहरूको भनाइ छ।
किसानहरूले सुरक्षा निकायलाई स्वदेशी कुखुराको ढुवानीमा आवश्यक कागजात जाँच गरेर मात्रै कारबाही गर्न र वास्तविक रूपमा भारतबाट हुने अवैध आयात तथा तस्करी नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन्। उनीहरूका अनुसार सीमामा प्रभावकारी निगरानी हुन सके मात्रै नेपाली कुखुरापालक किसानले आफ्नो उत्पादनको उचित बजार पाउन सक्छन्।