मधेस प्रदेश । मधेस प्रदेशका चिनी उद्योगहरूले कम उत्पादन दिने र प्रशोधनपछि चिनीको प्रतिलाभ कम हुने उखुका केही जात यस वर्षदेखि खरिद नगर्ने भएका छन्। उद्योगहरूले किसानलाई त्यस्ता पुराना जात विस्थापित गर्दै बढी उत्पादन र चिनीको मात्रा दिने सिफारिस गरिएका जाततर्फ जान आग्रह गरेका छन्।
मधेसका विभिन्न जिल्लामा सञ्चालित चिनी उद्योगहरूले संयुक्त रूपमा सूचना जारी गर्दै किसानलाई उत्पादनशील तथा सिफारिस गरिएका जातको उखु खेती गर्न आग्रह गरेका हुन्।
उद्योगीहरूका अनुसार पछिल्लो समय उखु खेतीमा रोग तथा कीराको समस्या बढ्नुका साथै केही जातको उत्पादन र चिनीको मात्रा दुवै घट्दै गएको छ। खेतमा उखुको उत्पादन कम हुनु र उद्योगमा प्रशोधन गर्दा चिनीको रिकभरी घट्नुले किसान र उद्योग दुवैलाई आर्थिक असर परेको छ।
बाबा बैजुनाथ सुगर मिलका सञ्चालक बैजु बाबराका अनुसार उद्योगहरूले कम उत्पादन तथा कम चिनी प्रतिलाभ दिने जात परिवर्तन गर्न किसानलाई विगत चार वर्षदेखि नै आग्रह गर्दै आएका छन्।
उद्योगहरूले CoSe-91269, CoSe-9206, Co-0233, Bo-160, CoS-95422, BO-147, CoP-2061, Co-0235, CoS-8436, BO-91, BO-110, CoSe-88216, Co-86032, CoSe-92270, CoSe-92423, BO-139, BO-141, BO-120, CoSe-07250, CoP-9302, BO-150, CoH-152 र CoIk-8102 लगायतका जातबाट अपेक्षित उत्पादन र चिनी प्रतिलाभ नआएको जनाएका छन्।
यी जातको खेती क्रमशः हटाउँदै नयाँ तथा उत्पादनशील जातमा जान उद्योगहरूले किसानलाई सुझाव दिएका छन्। उद्योगहरूले कमजोर जातको उखु खरिद नगर्ने वा किसानले त्यस्तो उखुको व्यवस्थापनका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्ने संकेतसमेत दिएका छन्।
इन्दु शङ्कर चिनी उद्योगका उखु महाप्रबन्धक योग नारायण रजकका अनुसार कमजोर जातको समस्या खेतमै सीमित हुँदैन। उत्पादन कम हुनुका साथै उद्योगमा उखु प्रशोधन गर्दा चिनीको रिकभरी पनि घट्ने भएकाले दुवै पक्षलाई आर्थिक नोक्सानी हुने गरेको उनले बताए।
“उखुको तौल मात्र बढाएर हुँदैन, त्यसमा चिनीको मात्रा पनि राम्रो हुनुपर्छ,” रजकले भने।
सिफारिस गरिएका जातमा जोड
चिनी उद्योगहरूले किसानलाई छिटो पाक्ने, राम्रो उत्पादन दिने र चिनीको मात्रा बढी हुने जातको खेती गर्न सुझाव दिएका छन्।
सिफारिस गरिएका जातमा Co-0118, CoIk-94184, Co-15023, CoIk-14201, CoIk-16202, CoS-17231, CoS-18231, CoP-9301, Co-98014, UP-5125, CoIk-15206, CoIk-15466, Co-05011, CoS-08279, CoS-08272 र CoS-13235 लगायत छन्।
उद्योगहरूले यी जातको बीउ तथा उखु व्यवस्थापनसम्बन्धी जानकारीका लागि सम्बन्धित चिनी उद्योगसँग सम्पर्क गर्न किसानलाई आग्रह गरेका छन्। रोग तथा कीरा नियन्त्रणका लागि ट्राइकोडर्मा, टीपीएम र कोराजिनजस्ता उपाय प्रयोग गर्नसमेत किसानलाई सुझाव दिइएको छ।
मधेसमा उखु खेतीको क्षेत्रफल ठूलो भए पनि पुराना जातको प्रयोग, गुणस्तरीय बीउको अभाव तथा रोग–कीराको समस्याका कारण किसानले अपेक्षित आम्दानी लिन नसकेको उद्योगीहरूको भनाइ छ।
यद्यपि पुरानो जातबाट नयाँ जातमा जान किसानका लागि सहज छैन। किसानहरूले सिफारिस गरिएका जातको पर्याप्त र गुणस्तरीय बीउ उपलब्ध गराउनुपर्ने, पुरानो जात विस्थापनमा सहयोग गर्नुपर्ने र उखुको मूल्य तथा चिनी रिकभरीबीच स्पष्ट नीति बनाउनुपर्ने माग गरेका छन्।
उखुको जात परिवर्तन एकै वर्षमा सम्भव नहुने भएकाले उद्योग, किसान, कृषि प्राविधिक र सरकारी निकायबीच समन्वय गरेर चरणबद्ध रूपमा अघि बढ्नुपर्ने देखिन्छ। पर्याप्त बीउ र प्राविधिक सहयोगबिना कमजोर जात हटाउने निर्णय कार्यान्वयन गर्दा त्यसको प्रत्यक्ष असर किसानमाथि पर्न सक्ने जोखिम पनि छ।
चिनी उद्योगहरूको पछिल्लो निर्णयसँगै मधेसको उखु खेतीमा अब उत्पादनको मात्रा मात्र होइन, उखुमा चिनीको मात्रा र उद्योगमा प्राप्त हुने रिकभरीलाई समेत प्राथमिकता दिने बहस सुरु भएको छ।