भक्तपुर — असार १५ अर्थात् दही–चिउरा खाने दिन आउँदा भक्तपुरको प्रसिद्ध ताइचिन चिउराको बजार फेरि एकपटक व्यस्त बनेको छ। उपत्यकासहित काभ्रेपलाञ्चोकसम्मबाट बढेको मागका कारण एकै दिन करिब ४० टन ताइचिन चिउरा बिक्री भएको व्यवसायीहरू बताउँछन्।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष तथा चिउरा व्यवसायी वीरेन्द्र जतिका अनुसार असार १५ का अवसरमा ताइचिन चिउराको माग सामान्य दिनको तुलनामा उल्लेखनीय रूपमा बढेको छ। दहीसँग स्वादिलो र स्वस्थकर मानिने भएकाले वर्षौंदेखि उपभोक्ताले यही चिउरा रोज्ने गरेका छन्।
भक्तपुरमा सञ्चालनमा रहेका करिब २५ वटा चिउरा मिलबाट दैनिक करिब २५ टन ताइचिन चिउरा उत्पादन हुँदै आएको छ। तर असार १५ मा माग अत्यधिक बढ्ने भएकाले उत्पादनले मात्र बजारको आवश्यकता धान्न मुस्किल पर्ने गरेको व्यवसायीहरूको अनुभव छ।
भक्तपुर नगरपालिका–६ भालाछेँस्थित लक्ष्मी चिउरा उद्योगमा सामान्य दिनमा दैनिक करिब ८०० किलो चिउरा बिक्री हुने गरेको छ। तर दही–चिउरा खाने दिन माग बढेर एक हजार किलो पुगे पनि उत्पादन सीमित भएकाले ८०० किलो मात्रै उपलब्ध गराउन सकिएको व्यवसायी जति बताउँछन्।
काठमाडौं उपत्यकाका व्यापारी, होटल तथा रेष्टुरेन्टबाट समेत ताइचिन चिउराको माग उल्लेखनीय रूपमा बढ्ने गरेको छ। हाल भक्तपुरबाट प्रतिकिलो २५० रुपैयाँका दरले ताइचिन चिउरा बिक्री भइरहेको छ।
व्यवसायीका अनुसार भक्तपुरबाट वार्षिक करिब ३०० टन ताइचिन चिउरा काठमाडौं उपत्यकाका बजारमा पुग्ने गरेको छ। यसको उत्पादनका लागि स्थानीय चैतेधानसँगै चितवन, नुवाकोट, पनौती, नाला र अन्य क्षेत्रबाट सिजनअनुसार धान ल्याएर प्रशोधन गरिन्छ।
स्वाद, गुणस्तर र परम्पराको संयोजन बनेको ताइचिन चिउराले प्रत्येक वर्ष असार १५ मा भक्तपुरको चिउरा व्यवसायलाई विशेष उत्साह थप्ने गरेको व्यवसायीहरूको भनाइ छ।