कपिलवस्तु। कृष्णनगर नगरपालिका–१२, नरेनापुर क्षेत्रमा भारतबाट अवैध रूपमा भित्र्याइएका ठूलो संख्यामा कुखुराका चल्ला प्रहरीले बरामद गरेको छ। सीमापारिबाट तस्करी गरी ल्याइएका १ हजार ४ सय चल्ला नियन्त्रणमा लिएर पछि नष्ट गरिएको हो।
आइतबार बिहान लु २१ प ५९४२ नम्बरको मोटरसाइकलमार्फत १४ वटा कार्टुनमा लोड गरेर चल्ला ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार चालक भने घटनास्थलबाट फरार भएका छन्।
सरकारले बर्ड फ्लु संक्रमणको जोखिमलाई ध्यानमा राख्दै कुखुरा तथा अन्य पक्षीजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइरहेको अवस्थामा यसरी अवैध रूपमा चल्ला भित्र्याउने प्रयास भएको देखिएको हो।
बरामद गरिएका चल्लाको अनुमानित मूल्य करिब १ लाख ४० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पशु स्वास्थ्यमा जोखिम हुन सक्ने भएकाले आवश्यक प्रक्रिया पूरा गरी स्थानीय सरोकारवाला र सुरक्षाकर्मीको उपस्थितिमा ती चल्ला नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार पछिल्लो समय सीमावर्ती नाकाहरू प्रयोग गरी भारतबाट कुखुरा, चल्ला तथा अन्य पशुपन्छीजन्य सामग्री अवैध रूपमा भित्र्याउने गतिविधि बढ्दै गएको छ। यसलाई रोक्न निगरानी थप कडा पारिएको उनले बताए।
यस्ता गतिविधिले स्थानीय कृषक तथा व्यवसायीलाई असर पार्नुका साथै पशुजन्य रोग फैलिने जोखिम बढाउने भएकाले नियन्त्रण अभियानलाई निरन्तर जारी राखिने प्रहरीले जनाएको छ। बरामद मोटरसाइकल भने आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा पठाइएको छ।