AgriVet Sanchar

कस्तो रोग हो अहिले देशव्यापी रूपमा फैलिएको बर्ड फ्लु? रोकथाम कसरी गर्ने?

काठमाडौं – पछिल्लो समयमा एभियन इन्फ्लुएन्जा अर्थात् बर्ड फ्लु को जोखिम भारत, नेपाल र छिमेकी देशहरूमा बढ्दै गएको छ। यसले पोल्ट्री फार्म, जंगली पन्छीहरू र मानव स्वास्थ्यमा समेत प्रभाव पार्ने देखिएको छ। अहिले नेपालका अधिकांश स्थानका पोल्ट्री फार्मरूमा बर्ड फ्लु देखिन थालेपछि  कुखुरा पालन गर्ने किसानहरूमा चिन्ता र डर सिर्जना गरेको छ। पशु सेवा विभागका अनुसार, प्रारम्भिक चरणमा नेपालका पूर्वी तराईमा तराईमा मात्र देखिएपनि अहिले देशका अधिकांश स्थानमा संक्रमण देखिन थालेपछि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

के हो बर्ड फ्लु ?

बर्ड फ्लु एक प्रकारको भाइरसजन्य रोग हो, जुन मुख्य रूपमा चरा तथापन्छीहरूमा देखिन्छ। यो रोग मुख्यतः दुई प्रकारको हुन्छ:

हाई पाथोजेनिक एभियन इन्फ्लुएन्जा  –जसलाई छोटकरीमा एचपीएआई भनिन्छ, यो अत्यन्त घातक प्रकारको हुन्छ । यसबाट संक्रमित पन्छीहरूमा  उच्च मृत्युदर हुने र  एक बाट अर्को पन्छीमा छिटो-छिटो फैलिने गर्छ। नेपालमा अहिले मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आणविक विधिबाट परीक्षण गर्दा,यही प्रकारअन्तर्गत पर्ने एच–५ एन–१ जातको भाइरस भेटिएको हो।

लो पाथोजेनिक एभियन इन्फ्लुएन्जा  –  जसलाई एलपीएआई पनि भनिन्छ। यो एचपीएआईको तुलनामा कम घातक हुन्छ। यसमा संक्रमित पन्छीमा हल्का लक्षण देखिन सक्छ र मृत्यु दर पनि केही कम हुन्छ। तर यसलाई सामान्य ठान्न मिल्दैन, किनकि कहिलेकाहीँ यही कम घातक प्रकार पछि बढी घातक प्रकारमा रूपान्तरण हुन सक्ने सम्भावना रहन्छ। हाल नेपालको अधिकांश ठाउँ मा देखिएको यहि भेरियन्ट को बर्डफ्लु हो ,जुन पछि गएर एच ५ एन १ जस्तो घातक भेरियन्टमा रूपान्तरण हुने डर रहेको छ।

बर्ड फ्लु कसरी सर्छ?

यो रोग मुख्य रूपमा संक्रमित पन्छीसँगको प्रत्यक्ष सम्पर्कबाट सर्छ। संक्रमित पन्छीको थुक, सिँगान, दिसा, प्वाँख, खानेपानी, दाना, पिँजडा, गाडी, भाँडा, जुत्ता वा फार्ममा प्रयोग हुने सामग्रीबाट पनि भाइरस फैलिन सक्छ। एउटै स्थानमा धेरै कुखुरा राखिएको फार्ममा यो रोग झन् छिटो फैलिने जोखिम रहन्छ।

जंगली वा आवतजावत गर्ने पन्छीबाट पनि यो रोग घरेलु पन्छीहरूमा सर्न सक्छ। त्यसैले खुला क्षेत्रमा कुखुरा पाल्ने किसानहरू अझ बढी सचेत हुनुपर्ने विज्ञहरू बताउँछन्। मानिसमा यो रोग सामान्यतया सजिलै सर्दैन, तर संक्रमित पन्छी वा तिनको फोहोरसँग लामो वा प्रत्यक्ष सम्पर्क भएमा संक्रमणको जोखिम रहन सक्छ।

कुखुराहरूमा देखिने लक्षण

बर्ड फ्लु लागेको पन्छीमा अचानक बिरामी पर्ने, दाना कम खाने, सुस्त हुने, सास फेर्न गाह्रो हुने,आँखामा पानी आउनु, टाउको वा शरीर सुन्निने, अण्डा उत्पादन घट्ने, पखाला लाग्ने, र एक्कासि मर्नेसम्मका लक्षण देखिन सक्छन्। धेरै किसानहरूले ठूलो संख्यामा छोटो समयमा कुखुरा मरेपछि मात्र बर्ड फ्लुको शंका गर्ने गरेका छन्।

मानिसमा देखिन सक्ने लक्षण

मानिसमा संक्रमण भएमा ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने, शरीर दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने, र गम्भीर अवस्थामा सास फेर्न समस्या हुने लक्षण देखिन सक्छन्। यस्ता लक्षण देखिएमा विशेषगरी संक्रमित पन्छीसँग सम्पर्कमा आएको इतिहास भए तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने विज्ञहरूको सुझाव छ।

उपचार छ कि छैन?

पन्छीमा बर्ड फ्लु लागेपछि प्रभावकारी उपचारभन्दा पनि नियन्त्रण र रोकथामलाई बढी महत्व दिइन्छ। संक्रमण पुष्टि भएका पन्छीलाई अन्य पन्छीबाट अलग राख्ने, आवश्यक परे नष्ट गर्ने, र फार्म पूर्ण रूपमा निसंक्रमण गर्ने अभ्यास अपनाइन्छ। सामान्यतया भाइरस रोगको उपचार नभए पनि, यसमा पन्छीहरूको इम्युनिटी बढाउने खालको अतिरिक्त सप्लिमेन्ट दिन सकिने डाक्टरहरूले बताउँछन् मानिसमा संक्रमण पुष्टि भएमा चिकित्सकको निगरानीमा उपचार गरिन्छ। त्यसैले यो रोगको समयमै पहिचान, र नियन्त्रण नै सबैभन्दा महत्वपूर्ण मानिन्छ।

कसरी बच्ने?

पशु सेवा विभागले जारी गरेको सूचना अनुसार, तापसिलका सुरक्षा अपनाउन किसानहरूलाई अनुरोध गरिएको छ ।

१. पन्छी फार्ममा अनावश्यक व्यक्ति र सवारी साधनलाई प्रवेश नगराउनु हुन।

२. फार्म परिसर भित्र प्रवेश गराउनै पर्ने भएमा निःसंक्रमण गरेर मात्र फार्ममा प्रवेश गराउन हुन।

३. एक फार्ममा काम गर्ने व्यक्ति अकों फार्ममा नजानु हुन ।

४. प्रयोग भइसकेको  अण्डा राख्ने  कागजको क्रेट पुनः प्रयोग नगर्नु हुन ।

५. फार्म/खोर प्रवेश गर्ने ढोकामा अनिवार्य रुपमा चुना लगायतका निःसंक्रामक औषधि राखिएको फुटवाथ प्रयोग गर्न हुन र प्रत्येक पटक प्रवेश गर्दा फुटबाथमा टेकेर वा स्प्रे गरेर मात्र फार्ममा प्रवेश गर्नु हुन।

६. खोर भित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोनको प्रयोग गर्नु हुन।

७. खोर भित्र र बाहिर दैनिक रुपमा निःसंक्रमण गर्नु हुन।

८. फार्म परिसरभित्र कुकुर, विरालो, मुसा लगायतका अन्य पशुपन्छी प्रवेश गर्न नसक्ने व्यवस्था गर्नु हुन ।

९. मरेका पन्छीलाई यथासक्य छिटो सुरक्षित तवरले खाडलमा गाड्नु हुन।

१०. पन्छी फार्ममा काम गर्ने व्यक्तिहरुले व्यक्तिगत सुरक्षाका उपायहरु अवलम्वन गर्ने, नियमित हात खुट्टा धुने र स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन।

११. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्नु/गराउनु हुन। पुनधः अकस्मात धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गराऔं।

किसानमा बढ्दो चिन्ता

संक्रमण फैलिन थालेपछि कुखुरा किसानहरू सबैभन्दा बढी प्रभावित बनेका छन्। एकातिर कुखुरा मर्ने, अर्कोतिर बजारमा डरका कारण माग घट्ने, ओसारपसारमा रोक लाग्ने, र लगानी जोखिममा पर्ने भएकाले किसानहरू ठूलो समस्यामा परेका छन्। कतिपय किसानले समयमै रोग नियन्त्रण नभए थप आर्थिक क्षति हुने चिन्ता व्यक्त गरेका छन्।

तसर्थ बर्ड फ्लु अहिले केवल पशुपन्छीको रोग मात्र नभई कृषि अर्थतन्त्र, खाद्य आपूर्ति र जनस्वास्थ्यसँग जोडिएको गम्भीर विषय बनेको छ। नेपालमा देखिएको पछिल्लो संक्रमणले किसान, उपभोक्ता र सम्बन्धित निकाय सबैलाई सजग बनाएको छ। समयमै पहिचान, कडा निगरानी, सुरक्षित पालनपोषण पद्धति र जनचेतनाका माध्यमबाट मात्रै यसको फैलावट रोक्न सकिने देखिन्छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.