चितवन। चितवनमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि दुई व्यावसायिक कुखुरा फार्मका १८ हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ। भरतपुर महानगरपालिका–४ मा अवस्थित एक लेयर्स फार्म र एक लोकल कुखुरा फार्ममा संक्रमण देखिएको पुष्टि राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, भरतपुरले गरेको हो।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार चैत १२ गते गरिएको परीक्षणबाट दुवै फार्ममा बर्डफ्लु संक्रमण देखिएको थियो। त्यसपछि रोगको थप प्रसार रोक्न तत्काल नियन्त्रणात्मक उपायहरू अपनाउँदै हालसम्म १७ हजार ९५० लेयर्स कुखुरा र ९१३ लोकल कुखुरा नष्ट गरिएको छ।
संक्रमण देखिएका फार्महरूबीच करिब ५० मिटरको दूरी रहेको थियो। संक्रमित क्षेत्रभित्रका कुखुरा मात्र नभई दाना, उपकरण र अन्य सम्भावित संक्रमणवाहक सामग्री पनि पूर्ण रूपमा नष्ट गरिएको छ। डा. श्रेष्ठका अनुसार रोग अन्यत्र फैलिन नदिन आवश्यक सतर्कता अपनाइएको छ।
लेयर्स कुखुरा मुख्यतः अण्डा उत्पादनका लागि व्यावसायिक रूपमा पालिने गरिन्छ भने लोकल कुखुरा पनि व्यावसायिक ढाँचामै उत्पादन भइरहेको थियो। सम्बन्धित लेयर्स फार्मले आफ्नै दाना उत्पादन गर्ने र अण्डा ढुवानीका लागि आफ्नै सवारी साधन प्रयोग गर्ने जस्ता व्यवस्थित अभ्यास अपनाएको बताइएको छ।
विशेषज्ञहरूका अनुसार संक्रमित क्षेत्रबाट करिब २–३ किलोमिटर वरपर अन्य फार्महरू पनि रहेका छन्। हालसम्म भाइरस टाढासम्म फैलिएको स्पष्ट संकेत नदेखिए पनि सतर्कता उच्च राख्नुपर्नेमा जोड दिइएको छ। हावाहुरी वा जंगली चरामार्फत पनि संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले थप निगरानी आवश्यक रहेको चिकित्सकहरूले बताएका छन्।
फार्म वरपर रहेका रुख तथा जंगली चराहरूबाट संक्रमण सरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यसैबीच, अन्य पोल्ट्री व्यवसायीहरूलाई कुनै पनि शंकास्पद लक्षण देखिएमा तुरुन्त प्रयोगशालामा सम्पर्क गर्न आग्रह गरिएको छ।