AgriVet Sanchar

इलामका मुद्दा उठाउँदै सांसद राई:विपद्, कृषि र पर्यटन समस्या समाधानमा जोड दिन आग्रह

इलाम जिल्लाका समग्र विकास र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष विभिन्न महत्वपूर्ण विषयहरूमा ध्यानाकर्षण गराएका छन्।

सोमबार आयोजित सांसदहरूसँगको छलफलमा सहभागी हुँदै राईले प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत, कृषि क्षेत्रका समस्या समाधान तथा पर्यटन प्रवर्द्धनका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्। साथै, उनले संविधान कार्यान्वयनका क्रममा देखिएका चुनौतीहरूबारे पनि प्रधानमन्त्रीलाई अवगत गराएका छन्।

उनले प्रतिनिधि सभा बैठक यथाशीघ्र आह्वान गर्नुपर्ने माग राख्दै अघिल्ला सरकारले प्राथमिकतामा राखेका विधेयकहरूमा ढिलाइ नगरी छलफल सुरु गर्नुपर्ने धारणा व्यक्त गरे। सरकारको एक सय बुँदे कार्ययोजना कार्यान्वयनमा देखिएका कानुनी जटिलता समाधान गर्न पनि संसद सञ्चालन अपरिहार्य रहेको उनले उल्लेख गरे।

वर्षायाम सुरु भइसकेको अवस्थामा इलामसहित विभिन्न जिल्लामा आएको दैवी प्रकोपका कारण भएको क्षतिलाई ‘डिजास्टर हिट जोन’ घोषणा गरिएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका लागि तत्काल राहत तथा पुनःस्थापना कार्यक्रम अघि बढाउन आग्रह गरेका छन्। उनका अनुसार जिल्लामा १३२ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने २७६ परिवार विस्थापित भएका र ४०१ घरमा आंशिक क्षति पुगेको छ। यसका लागि आवश्यक बजेट विनियोजन र त्यसको प्रभावकारी कार्यान्वयनमा उनले जोड दिएका छन्।

त्यसैगरी, क्षतिग्रस्त विद्युत आयोजना, पुल तथा सडकहरूको पुनर्निर्माण कार्य यथाशीघ्र सुरु गर्नुपर्ने आवश्यकता उनले औंल्याएका छन्। विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पनि सरकारको विशेष ध्यान जानुपर्ने उनले बताएका छन्।

कृषि क्षेत्रतर्फ, इलाममा उत्पादन हुने चिया, अलैंची, दूध, सुपारी, कफी तथा जडीबुटी व्यवसायमा देखिएका समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने उनले माग गरेका छन्। विशेषगरी भारत निर्यात हुने नेपाली चियामा देखिएको भारतीय सिन्डिकेट अन्त्य गर्दै बजार व्यवस्थापन सुधार गर्न र कृषिजन्य उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्नेमा उनले आग्रह गरेका छन्।

पर्यटन विकासका लागि काकाभिट्टा–चिवाभञ्ज्याङ सडकलाई उच्च प्राथमिकतामा राख्न, भारततर्फ अध्यागमन सेवा विस्तारका लागि पहल गर्न, माई नदी तटबन्ध निर्माण, मेची कोरिडोरको स्तरोन्नति तथा इलाम सदरमुकामसम्मको वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने माग पनि सांसद राईले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.