AgriVet Sanchar

सिन्धुपाल्चोकमा कफी खेतीको विस्तार: उत्पादन बढ्दै, अन्तर्राष्ट्रिय बजारमा उच्च माग

चौतारा, कफी उत्पादनका लागि उपयुक्त मानिएको सिन्धुपाल्चोक जिल्लामा पछिल्ला वर्षहरूमा कफी खेती तीव्र रूपमा विस्तार भइरहेको छ।

हाल जिल्लामा वार्षिक करिब ४० हजार किलोग्राम ड्राइ पार्चमेन्ट कफी उत्पादन भइरहेको छ, जसको उपयोग नेपालसँगै अन्तर्राष्ट्रिय बजारमा पनि हुँदै आएको छ। अहिले एक सय २५ हेक्टरभन्दा बढी जमिनमा कफी खेती भइरहेको छ भने यसको क्षेत्रफल अझै बढ्दो क्रममा छ। परम्परागत खेती प्रणाली छोडेर नगदेबालीतर्फ आकर्षित भएका किसानहरू कफी खेतीतर्फ उन्मुख भएका छन्। यसबाट राम्रो आम्दानी हुन थालेपछि सयौं किसानको जीवनस्तरमा सुधार आएको छ।

वि.सं. २०६२/०६३ मा जिल्लाभर जम्मा ४०० किलोग्राम ड्राइ चेरी कफी उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। गत आर्थिक वर्षमा मात्र ३० मेट्रिक टनभन्दा बढी कफी उत्पादन भएको थियो भने चालु आर्थिक वर्षमा यो परिमाण अझै बढ्ने अनुमान गरिएको जिल्ला कफी सहकारी सङ्घकी अध्यक्ष मन्दु थापाले जानकारी दिनुभयो।

सिन्धुपाल्चोकमा उत्पादित कफीको बजार पनि सुनिश्चित रहेको छ। ‘ए’ ग्रेडको पार्चमेन्ट ग्रिनबीच कफी प्रतिकिलो ८ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानसम्म निर्यात भइरहेको छ। हरेक वर्ष ११ मेट्रिक टनभन्दा बढी कफी विदेश पठाइने गरिएको छ भने देशभित्र पनि यसको माग बढ्दै गएको छ।

पहिले गुणस्तरीय प्रशोधन प्रविधिको अभावका कारण किसानहरूको कफी खेतीप्रति खासै आकर्षण थिएन। तर विश्व बजारमा बढ्दो माग, आधुनिक प्रविधिको पहुँच र सहकारी प्रणालीको विकाससँगै कफी खेती विस्तारले गति लिएको हो। हाल जिल्लामा ६ दर्जनभन्दा बढी समूह कफी सहकारीमा आबद्ध छन्।

सदावहार बाली भएकाले कफी खेतीले वातावरण संरक्षणमा पनि टेवा पुर्‍याइरहेको छ। यसले भूक्षय नियन्त्रण गर्नुका साथै वातावरण स्वच्छ राख्न मद्दत गर्दछ। करिब दुई दशकअघि जिल्ला कफी सहकारी सङ्घ स्थापना भएपछि यहाँको कफी अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेको हो। जिल्लाका १२ स्थानीय तहमध्ये अधिकांश क्षेत्रमा कफी खेती विस्तार भइसकेको छ।

यहाँको हावापानीअनुसार उपयुक्त अराविका जातको ‘बोर्न’ प्रजातिको कफी खेती गरिँदै आएको छ, जसले राम्रो उत्पादन दिइरहेको चौतारा साँगाचोकगढी नगरपालिका–१० का कृषक लक्ष्मीप्रसाद तिमल्सिनाले बताउनुभयो। स्वदेश तथा विदेश दुवै बजारमा सिन्धुपाल्चोकको कफीको माग उच्च रहेको अध्यक्ष थापाले उल्लेख गर्नुभयो।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.