AgriVet Sanchar

पशुचिकित्सकहरू: खाद्य र स्वास्थ्यका संरक्षक’ मूल नारासहित प्यानेल छलफल सम्पन्न

काठमाडौंनेपाल भेटेरिनरी एसोसिएशन को आयोजनामा विश्व पशु चिकित्सक दिवस २०२६ का अवसरमा राजधानीमा आयोजित कार्यक्रममा पशु स्वास्थ्य, खाद्य सुरक्षा र ‘एक स्वास्थ्य’ (One Health) अवधारणाको कार्यान्वयनमा कमजोरी रहेको औंल्याइएको छ।

(पशु चिकित्सकः खाद्य र स्वास्थ्यका संरक्षक) भन्ने यस वर्षको अन्तर्राष्ट्रिय नारालाई आत्मसात् गर्दै मंगलबार त्रिपुरेश्वरस्थित केन्द्रीय रिफरल पशु चिकित्सालय मा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पशु स्वास्थ्यमार्फत मानव स्वास्थ्य र खाद्य सुरक्षामा पुग्ने योगदानबारे गहन छलफल गरिएको थियो।

एसोसिएसनका आजीवन सदस्य डा. नर बहादुर रजवार को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष डा. राजेन्द्र प्रसाद यादव ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव डा. विशाल पोखरेल ले गर्नुभएको थियो। कार्यक्रममा पूर्व अध्यक्ष डा. सितल काजी श्रेष्ठ सहित विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष डा. केदार सुवेदी ले पशु चिकित्सकहरू केवल गोठ वा फार्ममा सीमित प्राविधिक नभई राष्ट्रिय खाद्य सुरक्षा र जनस्वास्थ्यका मुख्य पहरेदार भएको जिकिर गर्नुभयो।“वर्तमान सन्दर्भमा पशु स्वास्थ्यलाई छुट्याएर मानव स्वास्थ्यको परिकल्पना गर्न सम्भव छैन,” उहाँले बताउनुभयो, “फार्मदेखि भान्सासम्मको स्वच्छता सुनिश्चित गर्न भेटेरिनरीयनहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ, जसलाई राज्य र नागरिक समाजले समान रूपमा पहिचान गर्न आवश्यक छ।” उहाँले ‘वान हेल्थ’ अवधारणालाई केवल नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्दै जुनोटिक रोग र एन्टिबायोटिक प्रतिरोध (AMR) जस्ता बढ्दो चुनौती सामना गर्न भेटेरिनरी क्षेत्रमा लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।

प्राध्यापक डा. होमबहादुर बस्नेत ले ‘संरक्षक’को रूपमा चिनिनु गर्वको विषय भए पनि कार्यान्वयन पक्ष अझै कमजोर रहेको टिप्पणी गर्नुभयो।

पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल ले ‘एक स्वास्थ्य’ अवधारणालाई प्राथमिकतामा राखी सेवा विस्तार, खोप अभियान तथा सूचना प्रणाली सुदृढीकरण भइरहेको जानकारी दिनुभयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव भिमप्रसाद सापकोटा ले मानव स्वास्थ्यसँग सम्बन्धित करिब ६० प्रतिशत र उदीयमान रोगका ७० प्रतिशत स्रोत पशुसँग जोडिएको उल्लेख गर्दै प्रभावकारी कार्यान्वयनका लागि सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग का ईश्वर सुबेदी ले उत्पादनदेखि उपभोगसम्म गुणस्तर कायम गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन ले कमजोर नियमनका कारण उपभोक्ता सबैभन्दा बढी प्रभावित भएको बताउँदै एन्टिबायोटिक्स, हर्मोन तथा विषादीको दुरुपयोग, गुणस्तरहीन दाना र अव्यवस्थित वधशालाले स्वास्थ्य जोखिम बढाएको उल्लेख गर्नुभयो।

पोल्ट्री व्यवसायी माधव रेग्मी ले प्राविधिक सेवा अभाव, प्रयोगशालाको कमी तथा बाध्यतापूर्ण औषधि प्रयोग किसानका प्रमुख समस्या रहेको बताउनुभयो।

यस्तै, डा. श्रीराम अधिकारी ले संघीय संरचनापछि पशु स्वास्थ्य क्षेत्रमा ‘चेन अफ कमान्ड’ कमजोर भएको उल्लेख गर्दै समन्वय सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

करिब १३० भन्दा बढी सहभागी कार्यक्रममा नेपालमा ‘वान हेल्थ’ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि बलियो आधार तयार भएको आयोजकले जनाएको छ।विश्व भेटेरिनरी दिवस हरेक वर्ष अप्रिल महिनाको अन्तिम शनिबार मनाइने भए पनि एसोसिएसनले यसलाई पूर्वसन्ध्यामा विशेष महत्वका साथ मनाएको हो। कार्यक्रमको अन्त्यमा पशु चिकित्सकहरूले व्यावसायिक एकता सुदृढ गर्दै भावी कार्यदिशाबारे समेत छलफल गरेका थिए।विश्व भेटेरिनरी दिवस सामान्यतः अप्रिल महिनाको अन्तिम शनिबार मनाइने गरिए पनि एसोसिएसनले यस अवसरलाई पूर्वसन्ध्यामै विशेष महत्वका साथ आयोजना गरेको हो। कार्यक्रमको अन्त्यमा सहभागी पशु चिकित्सकहरूले पेशागत एकता सुदृढ गर्दै आगामी रणनीति र कार्यदिशाबारे छलफल गरेका थिए।

   

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.