AgriVet Sanchar

सूर्यविनायकका बासिन्दालाई सावधानी अपनाउन आग्रह: कुकुरमा रेविज पुष्टि

भक्तपुर— भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा एक सामुदायिक कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ।

नगरपालिकाका अनुसार वडा नम्बर ७ अन्तर्गत मोर्डन डेरी आसपासको क्षेत्रमा भेटिएको सामुदायिक कुकुरमा रेविज रोग पुष्टि भएको हो। संक्रमण पुष्टि भएसँगै सम्भावित जोखिमलाई ध्यानमा राख्दै नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

रेविज मानिस तथा जनावर दुवैका लागि घातक रोग भएकाले स्थानीय बासिन्दालाई अपरिचित, बिरामी वा अस्वाभाविक व्यवहार देखाउने कुकुर तथा अन्य जनावरसँग सम्पर्क नगर्न आग्रह गरिएको छ। विशेषगरी बालबालिका खुला स्थानमा खेल्ने भएकाले अभिभावकलाई उनीहरूमाथि थप निगरानी राख्न सुझाव दिइएको छ।

नगरपालिकाले कुनै पनि जनावरले टोकेमा, चिथोरेमा वा कोट्याएमा सामान्य रूपमा नलिन आग्रह गरेको छ। यस्तो अवस्थामा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर चिकित्सकीय परामर्श लिन तथा आवश्यक खोप सेवा प्राप्त गर्नुपर्ने जनाएको छ।

साथै घरपालुवा कुकुर र बिरालोलाई अनिवार्य रूपमा रेविजविरुद्धको खोप लगाउन नगरपालिकाले आग्रह गरेको छ। पशु स्वास्थ्य विज्ञहरूका अनुसार घरपालुवा जनावरको नियमित खोपले रेविज संक्रमणको जोखिम उल्लेखनीय रूपमा कम गर्न मद्दत गर्छ।

स्थानीय प्रशासनले प्रभावित क्षेत्रको निगरानी बढाइएको जनाएको छ भने शंकास्पद अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि नगरवासीलाई अनुरोध गरेको छ। स्वास्थ्य तथा पशु सेवा सम्बन्धी निकायहरूलाई समेत उच्च सतर्कतामा राखिएको जनाइएको छ।

रेविज एक भाइरल रोग हो, जुन प्रायः संक्रमित जनावरको टोकाइमार्फत सर्ने गर्दछ। समयमै उपचार र खोप नलिएमा यो रोग ज्यानसम्म जान सक्ने भएकाले स्वास्थ्यकर्मीहरूले सावधानी अपनाउन सबैलाई आग्रह गरेका छन्।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.