मकवानपुर । जङ्गली जनावरका कारण परम्परागत अन्नबाली जोगाउन कठिन हुन थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेका किसान वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन्। मकै, गहुँ, कोदो र फापरजस्ता बालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि यहाँका केही किसानले अहिले सजावटी वनस्पति सिल्भर डलर (युकालिप्टस) को व्यावसायिक खेती सुरु गरेका छन्।
स्थानीय किसान रमेश रानामगरले मात्रै करिब ३१ रोपनी जग्गामा दुई हजारभन्दा बढी सिल्भर डलरका बिरुवा हुर्काइरहेका छन्। परम्परागत बाली जङ्गली जनावरले नष्ट गर्ने समस्या बढेपछि उनले खेतीको स्वरूप नै परिवर्तन गर्ने निर्णय गरेका हुन्।
“मकै, गहुँ, कोदो र फापर लगाउँदा जङ्गली जनावरले धेरै क्षति पुर्याउँथे। त्यसपछि बजारमा माग भएको नयाँ बालीतर्फ लाग्ने सोच बनाएँ,” रानामगरले बताए।
उनका अनुसार सिल्भर डलरको सुरुवाती लगानी भने सामान्य छैन। एउटा बिरुवाकै मूल्य करिब १ हजार ४ सय रुपैयाँ पर्ने भएकाले ठूलो क्षेत्रफलमा खेती गर्न पर्याप्त पूँजी आवश्यक हुन्छ। तर छोटो समयमै उत्पादन सुरु हुनु र बजारमा सहज बिक्री हुनुका कारण लगानी उठाउने सम्भावना राम्रो देखिएको उनको भनाइ छ।
सात–आठ महिनामै उत्पादन
सिल्भर डलर खेतीप्रति किसान आकर्षित हुनुको प्रमुख कारण यसको उत्पादन चक्र छोटो हुनु हो। किसानका अनुसार रोपेको करिब सातदेखि आठ महिनामै पहिलोपटक हाँगा काट्न सकिन्छ। त्यसपछि बिरुवाको अवस्था, मलजल र गोडमेलअनुसार एकदेखि दुई महिनाको अन्तरालमा पुनः हाँगा काटेर बिक्री गर्न सकिन्छ।
कोगटेकै अर्का किसान वासुदेव चुनी मगरले गत फागुनमा तीन सय बिरुवा खरिद गरेर चार रोपनीमा खेती सुरु गरेका थिए। करिब ४ लाख ४७ हजार रुपैयाँ खर्च गरेर सुरु गरेको खेतीबाट उनले उत्पादन लिन थालिसकेका छन्।
उनका अनुसार हालसम्म दुई सय किलोग्रामभन्दा बढी सिल्भर डलर बिक्री भइसकेको छ। बाँकी उत्पादन पनि बजार पठाउने तयारीमा छ।
स्थानीय बजारमा सिल्भर डलरको हाँगा प्रतिकिलो करिब ३०० रुपैयाँसम्ममा बारीबाटै बिक्री हुने किसानहरू बताउँछन्। नियमित रूपमा हाँगा काट्न सकिने भएकाले एउटै खेतीबाट पटक–पटक आम्दानी लिन सकिने उनीहरूको अनुभव छ।
सिल्भर डलरको अर्को आकर्षण यसको दीर्घकालीन उत्पादन क्षमता हो। उचित मलजल, सिँचाइ, गोडमेल र व्यवस्थापन गर्न सके एउटै बोटबाट धेरै वर्षसम्म हाँगा उत्पादन गर्न सकिने किसानहरूको भनाइ छ।
सामान्य अवस्थामा यसको आयु ३० देखि ५० वर्षसम्म हुने बताइन्छ। त्यसैले सुरुवाती चरणमा बिरुवा, जग्गा तयारी र रोपाइँमा ठूलो खर्च भए पनि बोट हुर्किसकेपछि नियमित रूपमा उत्पादन लिन सकिने अपेक्षा किसानको छ।
तर नयाँ किसानका लागि प्रारम्भिक लगानी प्रमुख चुनौती बनेको छ। बिरुवाको मूल्यसँगै जग्गा तयारी, सिँचाइ, श्रम, मल तथा गोडमेलमा समेत खर्च हुने भएकाले पर्याप्त पूँजीबिना ठूलो क्षेत्रफलमा खेती विस्तार गर्न कठिन देखिन्छ।
बुकेदेखि अरोमा थेरापीसम्म प्रयोग
सिल्भर डलर अस्ट्रेलियाको रैथाने युकालिप्टस प्रजातिसँग सम्बन्धित सुगन्धित वनस्पति हो। चाँदीजस्तो देखिने गोलाकार पात यसको आकर्षक विशेषता मानिन्छ।
यसका पातसहितका हाँगा फूलका बुके, माला तथा विभिन्न प्रकारका सजावटमा प्रयोग गरिन्छ। पछिल्लो समय होटल, रेस्टुरेन्ट, विवाह, पार्टी तथा अन्य कार्यक्रमको सजावटमा समेत यसको प्रयोग बढिरहेको किसानहरू बताउँछन्।
यसका पातबाट सुगन्धित तेलसमेत निकाल्न सकिने भएकाले अरोमा थेरापीलगायतका क्षेत्रमा यसको उपयोग हुने गरेको बताइन्छ। फ्लोरिकल्चर तथा सजावटी सामग्रीको बजार विस्तार हुँदै जाँदा सिल्भर डलरको माग पनि बढिरहेको स्थानीय किसानको अनुभव छ।
चिसो तथा समशीतोष्ण हावापानीमा राम्रो हुने भएकाले नेपालको करिब एक हजारदेखि एक हजार पाँच सय मिटर उचाइका मध्यपहाडी क्षेत्रमा यसको व्यावसायिक खेतीको सम्भावना रहेको किसान तथा वनस्पति क्षेत्रका जानकारहरू बताउँछन्।
कोगटेका किसानका लागि अहिले सबैभन्दा सकारात्मक पक्ष बजारको उपलब्धता बनेको छ। उत्पादित हाँगा स्थानीय तथा बाह्य बजारमा बारीबाटै बिक्री हुने गरेको उनीहरूको भनाइ छ।
तर उत्पादन कम भएकाले मागअनुसार आपूर्ति गर्न भने कठिन भइरहेको छ।
“बजारको समस्या छैन, अहिले त मागअनुसार उत्पादन पुर्याउनै गाह्रो भइरहेको छ,” स्थानीय किसानहरूको भनाइ छ।
हाल सीमित किसानले मात्रै व्यावसायिक रूपमा सिल्भर डलर खेती गरिरहेकाले बजारको मागको तुलनामा उत्पादन न्यून रहेको उनीहरू बताउँछन्। यसले नयाँ किसानका लागि अवसर देखाए पनि ठूलो क्षेत्रफलमा खेती विस्तार हुँदै गएपछि उत्पादन, गुणस्तर र बजार व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिन्छ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार कोगटे क्षेत्रमा सिल्भर डलर खेतीप्रति किसानको चासो बढिरहेको छ। स्थानीय सरकारले पनि यसलाई सम्भावनायुक्त व्यावसायिक खेतीका रूपमा अघि बढाउने तयारी गरेको उनले बताए।
किसानलाई आवश्यक प्राविधिक ज्ञान, उत्पादनसम्बन्धी जानकारी तथा अन्य सहयोग उपलब्ध गराउन सके थप किसानलाई यस क्षेत्रमा आकर्षित गर्न सकिने गाउँपालिकाको धारणा छ।
तर किसानहरू भने अझै गुणस्तरीय बिरुवा, सरकारी सहयोग र प्राविधिक परामर्शको अभाव रहेको बताउँछन्। विशेषगरी बिरुवा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उचित कटाइ, मलजल र बजार व्यवस्थापनबारे पर्याप्त जानकारी नहुँदा नयाँ किसानलाई चुनौती हुने उनीहरूको भनाइ छ।