AgriVet Sanchar

खेती जोगाउन नगरपालिकाको पहल: पाख्रीवासमा ‘बाँदर हेरालु’ परिचालन सुरु

नकुटा-धनकुटा जिल्लाको पाख्रीवास नगरपालिकाले खेतबारीमा बढ्दो बाँदर आतंक नियन्त्रण गर्न विशेष ‘हेरालु’ टोली परिचालन गरेको छ। पछिल्लो समय मकै, आलु, तरकारी तथा विभिन्न फलफूल बालीमा निरन्तर क्षति हुन थालेपछि नगरपालिकाले यो नयाँ व्यवस्था सुरु गरेको हो।

नगरप्रमुख ज्ञानबहादुर गुरुङका अनुसार प्रारम्भिक चरणमा दुई जना पुरुषलाई दैनिक ज्यालादारी आधारमा ‘बाँदर हेरालु’ का रूपमा नियुक्त गरी गस्तीमा खटाइएको छ। उनीहरूलाई गमबुट, टर्च, गुलेली र लौरो जस्ता आवश्यक सामग्री उपलब्ध गराइएको छ ताकि बालीमा क्षति पुर्‍याउने बाँदरलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकियोस्।

नगरपालिकाको योजना अनुसार, बाँदर वा अन्य वन्यजन्तुले दुःख दिएको अवस्थामा सम्बन्धित वडाध्यक्षलाई जानकारी गराइनेछ। त्यसपछि वडाध्यक्षमार्फत हेरालु टोली तुरुन्तै परिचालन गरिने व्यवस्था गरिएको छ। हाल पाख्रीवास नगरपालिकामा १० वटा वडा रहेका छन्, र यो कार्यक्रमलाई सुरुआती परीक्षणका रूपमा अघि बढाइएको जनाइएको छ। आवश्यक परे जनशक्ति थप्ने तयारी पनि नगरपालिकाले गरेको छ।

किसानहरू दैनिक कामकाजमा व्यस्त रहने हुँदा दिनभरि बाँदर धपाउन समय नपुग्ने समस्या देखिएको छ। खेती नै मुख्य आम्दानीको स्रोत भएकाले बाली जोगाउन तत्काल कदम चाल्नुपरेको नगरपालिकाको भनाइ छ।

बाँदर बढी सक्रिय हुने समय पहिचान गरी हेरालुहरू किसानसँगै गस्तीमा रहनेछन्। उनीहरूले सिटी बजाउने, टिनका भाँडा तथा ढोल बजाउने, गुलेली प्रयोग गर्ने लगायतका उपाय अपनाउनेछन्। साथै, केही स्थानमा जाली तथा घेराबार जस्ता दीर्घकालीन उपायका लागि प्राविधिक सुझाव पनि दिइएको जनाइएको छ।

यस पहलबाट किसानको बाली सुरक्षामा सुधार आउने र कृषिप्रति उनीहरूको आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.