काठमाडौँ — मनसुन सुरु भएपछि नेपालमा बाढी, पहिरो र डुबानलाई प्रमुख प्राकृतिक विपद्का रूपमा लिइन्छ। तर पछिल्लो तथ्यांकले वर्षायाममा अर्को मौन जोखिम पनि उत्तिकै गम्भीर रहेको देखाएको छ—सर्पदंश।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चालु वर्ष वैशाख १ देखि साउन १० गतेसम्म देशभर सर्पदंशका ६६१ घटना भएका छन्। ती घटनामा ५३ जनाको मृत्यु भएको छ भने ५७२ जना घाइते भएका छन्। ६२२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
सो अवधिमा अन्य विपद्का कारण भएको मृत्युभन्दा सर्पदंशबाट ज्यान गुमाउनेको संख्या बढी छ। चट्याङबाट २५, लेक लागेर २१, आगलागीबाट १९, जनावरको आक्रमणबाट १७, पहिरोबाट १६ र बाढीबाट १३ जनाको मृत्यु भएको प्राधिकरणको तथ्यांक छ। भारी वर्षाका कारण चार तथा डुंगा दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्।
खेतदेखि घरसम्म जोखिम
मनसुनसँगै विशेषगरी तराई–मधेश र भित्री मधेसका ग्रामीण क्षेत्रमा सर्पको जोखिम बढ्ने गरेको छ। खेतबारीमा काम गर्ने किसान, घाँस–दाउरा संकलन गर्ने महिला, पशुपालनमा संलग्न ग्रामीण बासिन्दा तथा राति घरबाहिर निस्कनुपर्ने मानिसहरू बढी जोखिममा पर्छन्।
चितवनको जमुनापुरकी विमला ढकालका लागि वर्षायाम खेतीपातीसँगै डर पनि बोकेर आउने मौसम हो। खेतमा काम गर्दा बालीभन्दा वरिपरि सर्प छ कि छैन भन्ने कुरामा बढी ध्यान जाने गरेको उनी बताउँछिन्।
“काम नगरे घर चल्दैन। तर खेतमा पुग्दा सर्पको डर सधैं हुन्छ,” ढकाल भन्छिन्। उनका अनुसार खेतबारीमा मात्र नभई कहिलेकाहीँ घरभित्रै पनि सर्प भेटिने गरेका छन्। घरमा प्रायः एक्लै बस्नुपर्ने भएकाले सर्पले टोकेको अवस्थामा तत्काल अस्पताल कसरी पुग्ने भन्ने चिन्ता पनि उनलाई छ।
बाराको सिम्रौनगढ नगरपालिका–२ का सुनिल यादवलाई पनि मनसुनमा आफ्ना बालबालिकाको सुरक्षाको चिन्ता बढ्छ। उनका अनुसार गाउँका झाडी, खेतका आली र मुसाले बनाएका प्वाल सर्पका लागि उपयुक्त बासस्थान बन्ने गरेका छन्।
तराईका कतिपय बस्तीमा अझै पर्याप्त शौचालय नहुँदा राति बाहिर निस्कनुपर्ने बाध्यताले जोखिम थपिएको यादव बताउँछन्। किसानहरू पनि राति खेतमा पानी लगाउन वा मोटर चलाउन जाँदा अँध्यारोमा सर्पसँग जम्काभेट हुने सम्भावना रहने उनको भनाइ छ।
उनले बालबालिकालाई जोखिमयुक्त ठाउँमा जथाभावी खेल्न नदिने, राति बाहिर निस्कँदा टर्च प्रयोग गर्ने, खेतमा बुट लगाउने र घरवरिपरिका झाडी सफा राख्ने जस्ता सावधानी अपनाउन सुझाव दिएका छन्।
महिलामा जोखिम अझ बढी
सर्पदंशको जोखिम सबैमा भए पनि यसको असर महिलामा तुलनात्मक रूपमा बढी देखिएको सरकारी तथ्यांकले देखाउँछ।
प्राधिकरणका अनुसार २०७४ देखि २०८३ सालसम्म सर्पदंशका १ हजार २१८ घटना दर्ता भएका छन्। ती घटनामा २५९ जनाको मृत्यु भएको छ। मृतकमध्ये १३२ महिला र १२१ पुरुष छन्। यही अवधिमा ९७६ जना घाइते भएका छन्, जसमा ५४२ महिला र ४३४ पुरुष छन्। सर्पदंशका घटनाबाट १ हजार २२६ परिवार प्रभावित भएका छन्।
ग्रामीण क्षेत्रमा महिलाहरू खेतीपाती, घाँस–दाउरा संकलन, पशुपालन तथा घरायसी कामका लागि नियमित रूपमा बाहिर निस्कनुपर्ने भएकाले उनीहरू जोखिममा पर्ने गरेको प्राधिकरणको भनाइ छ।
प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइरालाले सर्पदंश रोकथामका लागि जनचेतना, सुरक्षित कार्यशैली र उपचार सेवाको पहुँचलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। सर्पदंशबाट मृत्यु भएमा सरकारले दुई लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको उनले जानकारी दिए।
जोखिम क्षेत्र पहिचान गरिने
सर्पदंशका घटना कम गर्न प्राधिकरणले सर्पको बासस्थान र मानिससँगको सम्पर्क बढी हुने क्षेत्र पहिचान गर्ने तयारी गरेको छ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार कुन वातावरणमा सर्प बढी देखिन्छ, उनीहरूको आवतजावत कस्ता क्षेत्रमा हुन्छ र मानिससँगको सम्पर्क किन बढिरहेको छ भन्ने विषयमा अध्ययन गरिनेछ।
जोखिम बढी भएका स्थानमा स्थानीय तहसँग सहकार्य गरेर सर्प उद्धार तथा व्यवस्थापनको प्रणाली विकास गर्ने योजना पनि अघि सारिएको छ। साथै स्थानीय उद्धार टोलीको क्षमता अभिवृद्धि, जनचेतना कार्यक्रम र तत्काल प्रतिकार्य गर्न सक्ने स्थानीय संयन्त्र निर्माणमा जोड दिइने प्राधिकरणले जनाएको छ।
अस्पतालमा दैनिक बिरामी
वीर अस्पतालका विशेषज्ञ डा. सुनिल विश्वकर्माका अनुसार मनसुन सुरु भएपछि सर्पदंशका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। अहिले अस्पतालमा दैनिक औसत चार जना सर्पदंशका बिरामी आउने गरेको र उनीहरूमध्ये अधिकांश तराईका जिल्लाबाट आउने गरेको उनले बताए। सर्लाहीबाट आउने बिरामीको संख्या तुलनात्मक रूपमा बढी रहेको उनको भनाइ छ।
सर्पले टोकेपछि सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुग्नु नै महत्वपूर्ण हुने उनले बताए। विषालु सर्पको टोकाइ पुष्टि भएपछि आवश्यकताअनुसार एन्टिस्नेक भेनम प्रयोग गरिन्छ।
चिकित्सकहरूले सर्पदंशपछि घाउ काट्ने, विष चुस्ने, कसिलो डोरी बाँध्ने वा धामी–झाँक्रीकहाँ उपचार खोज्ने जस्ता अभ्यास नगर्न चेतावनी दिएका छन्। यस्ता गतिविधिले उपचारमा ढिलाइ गर्नुका साथै बिरामीको अवस्था थप गम्भीर बनाउन सक्ने उनीहरूको भनाइ छ।
समयमै उपचार भए ज्यान बचाउन सकिन्छ
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पनि सर्पदंशलाई सामान्य घटना नठान्न आग्रह गरेको छ।
केन्द्रकी निर्देशक डा. राधिका थपलियाका अनुसार सर्पले टोकेपछि बिरामीलाई शान्त राख्ने, टोकेको अंगलाई सकेसम्म स्थिर राख्ने र तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लैजानुपर्छ। एन्टिस्नेक भेनम उपलब्ध हुने स्वास्थ्य संस्थामा छिटो पुर्याउन सके धेरैको ज्यान बचाउन सकिने उनको भनाइ छ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका विशेषज्ञ डा. मिलन बज्राचार्य पनि उपचारमा हुने ढिलाइलाई सर्पदंशबाट हुने मृत्युको प्रमुख कारणमध्ये एक मान्छन्। उनका अनुसार स्वास्थ्य संस्थामा उपचारको सुविधा हुँदाहुँदै पनि बिरामी समयमै अस्पताल नपुग्दा जटिलता बढ्ने गरेको छ।
सावधानी नै पहिलो सुरक्षा
स्वास्थ्य विज्ञहरूले मनसुनका बेला सर्पदंशबाट जोगिन केही सामान्य सावधानी अपनाउन सुझाव दिएका छन्। राति बाहिर निस्कँदा टर्च बोक्ने, खेतबारी वा झाडीमा काम गर्दा बुट र लामो कपडा लगाउने, घरवरिपरिका झाडी तथा फोहोर हटाउने र मुसाको नियन्त्रण गर्ने उपाय उपयोगी मानिन्छ।
भुइँमा सुत्ने बानी भएका परिवारलाई सम्भव भएसम्म खाटमा सुत्न र राति सुत्दा झुलको प्रयोग गर्न पनि सुझाव दिइएको छ।
नेपालमा गोमन, राजगोमन, करेत, विभिन्न प्रजातिका भाइपर तथा अन्य विषालु सर्प पाइने भएकाले वर्षायाममा विशेष सतर्कता आवश्यक रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोषले जनाएको छ।
बाढी र पहिरो जस्ता विपद् अचानक देखिन्छन्, तर सर्पदंशको जोखिम धेरैपटक घर, खेत र दैनिक जीवनकै बीचमा लुकेको हुन्छ। त्यसैले मनसुनमा सर्पदंशलाई पनि गम्भीर जनस्वास्थ्य जोखिमका रूपमा लिएर समयमै उपचार, सही जानकारी र व्यक्तिगत सावधानीलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।