काठमाडौं — नेपालको कृषि र पशुपालन क्षेत्रमा लामो समयदेखि विश्वासिलो ब्रान्डका रूपमा परिचित श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड (SAIL) ले सेयर बजारमा आफ्नो उपस्थितिलाई थप मजबुद बनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आफ्नो शेयर सूचीकृत गराइसकेको र दोस्रो बजारमा कारोबार हुँदै आएको यस कम्पनीको अन्तिम मूल्य प्रतिशेयर १३७५ रुपैयाँमा कारोबार भएको थियो ,यो संगै बजारमा कम्पनीको कुल पूँजी हाल २२,४२९,६८७,५०० रुपैयाँ पुगेको छ।
कम्पनले मुख्य रूपमा कुखुरा, गाईवस्तु र माछा पालनका लागि उच्च गुणस्तरका पोषणयुक्त दाना उत्पादन गर्नुका साथै किसानलाई प्राविधिक परामर्श, चल्ला उपलब्ध गराउने सुविधा र उत्पादनको बजार व्यवस्थापनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यसले नेपालमा कृषि र पशुपालनलाई थप आधुनिक र व्यवसायिक ढंगले अगाडि बढाउने आसा गरिएको छ।
कम्पनीको IPO सेबोनबाट स्वीकृति भएपछि दुई चरणमा निष्काशन गरिएको थियो । प्रारम्भिक चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्टै शेयर आरक्षित गरिएको थियो भने दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर जारी गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि २५,१०,४९३ कित्ता सेयर वितरण गरेको थियो भने नेप्सेमा कुल १,६३,१२,५०० कित्ता सेयर सूचीकृत छ जसको अंकित मूल्य रु. १०० मा जारी गरिएको थियो, यसले गर्दा कम्पनीको पूँजी आधारलाई थप सुदृढ बनाएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै SAIL प्रत्येक दिन नियमित कारोबारमा सहभागी हुँदैछ र यसले लगानीकर्ताबीच उत्साह र विश्वास उत्पन्न गरेको छ। विशेषज्ञहरूका अनुसार कृषि उद्योगमा IPO को सफलता नेपालमा निजी क्षेत्रको लगानी र कृषि उद्यमशीलता प्रवर्धनका लागि सकारात्मक संकेत रहेको ,जसले गर्दा कृषि उत्पादनको विस्तार र आधुनिकरणमा योगदान पुर्याउने विश्वास छ। उत्पादन विस्तार, सेयर बजारमार्फत पूँजी सुदृढीकरण र किसानसँगको सहकार्यले यसलाई कृषि उद्योगको अग्रणी संस्थाका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।
कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र किसानको आय वृद्धि लक्षित गर्दै श्रीनगर एग्रिटेक आधुनिक कृषि व्यवसायको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै छ, जसले आम उपभोक्ता, लगानीकर्ता र कृषक सबैका लागि दीर्घकालीन लाभ सुनिश्चित गर्नेछ। यस कम्पनीले आफ्नो व्यवसाय मोडेललाई अझ फराकिलो बनाउँदै दाना उद्योगसँगै कुखुरा पालन, मासु प्रसोधन र मूल्यवर्धित कृषि उत्पादन क्षेत्रमा पनि विस्तार गर्ने रणनीति अगाडि बढाएको छ । कम्पनीले रूपन्देही, पाल्पा र बुटवल लगायत क्षेत्रमा आधुनिक कृषि फार्महरू सञ्चालन गर्दै आइरहेको छ, जसले रोजगारी सिर्जना र स्थानीय कृषि बजारलाई मजबुत बनाइरहेको छ ।