काठमाडौं — थाइल्यान्डको उत्तरी सहर चियाङ माईस्थित निजी चिडियाखाना “टाइगर किंगडम चियाङ माई ” मा राखिएका ७२ वटा बाघहरूको मृत्यु भएपछि त्यहाँका अधिकारीहरू गम्भीर चिन्तामा परेका छन्। अत्यन्त सङ्क्रामक रोग फैलिएको आशंका गरिएसँगै बाँकी बाघहरूको जीवन जोगाउन आपतकालीन नियन्त्रण र संरक्षण अभियान तीव्र बनाइएको छ।
स्थानीय प्रशासनका अनुसार माए रिम र माए टेङ जिल्लामा राखिएका बाघहरूमा पहिलो पटक फेब्रुअरी ८ देखि बाघहरूको स्वास्थ्यमा समस्या आउन थालेको थियो।सुरु-सुरुमा सामान्य देखिएको समस्या चाँडै गम्भीर बन्दै गयो, र दिनप्रतिदिन मृत्यु संख्या बढ्दै जाँदा अवस्था नियन्त्रण भन्दा बाहिर गएको थियो।
प्रारम्भिक प्रयोगशाला परीक्षणले ‘क्यानाइन डिस्टेम्पर’ नामक खतरनाक भाइरसको संक्रमण पुष्टि गरेको छ, जुन जनावरहरूका लागि अत्यन्त घातक मानिन्छ। यसका साथै केही बाघमा ‘मायकोप्लाज्मा’ ब्याक्टेरियाका कारण दोस्रो चरणको संक्रमण हुन पुगेको थियो।
पशु विकास विभागका महानिर्देशक सोमचुआन रतनामुङ्क्लानोनले ‘फेलाइन प्यानल्युकोपेनिया’ संक्रमणको सम्भावनालाई पनि नकार्न नमिल्ने बताएका छन्।उनले बाघजस्ता जंगली जनावरको उपचार निकै चुनौतीपूर्ण हुने उल्लेख गर्दै भने, “घरपालुवा जनावरमा रोग देखिएलगत्तै उपचार सुरु गर्न सकिन्छ, तर बाघहरूमा लक्षण स्पष्ट हुँदासम्म संक्रमण गहिरो भइसकेको हुन्छ, जसले उपचारलाई जटिल बनाउँछ।”
हाल चिडियाखानाभित्र रहेका सबै खोरहरूलाई पूर्ण रूपमा कीटाणुमुक्त बनाउने कार्य भइरहेको छ भने जीवित बाघहरूलाई खोप दिने तयारी तीव्र पारिएको छ। संक्रमणको जोखिम पूर्णरूपमा नियन्त्रणमा नआएसम्म चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ, जसले पर्यटकहरूको चहलपहल अचानक रोकिएको छ। सामान्य अवस्थामा, यो स्थान पर्यटकहरूलाई बाघसँग नजिकबाट भेट्ने, फोटो खिच्ने र अनौठो अनुभव लिने अवसरका लागि विशेष आकर्षणको केन्द्र मानिन्छ।
यो पहिलो पटक भने होइन। दक्षिण–पूर्वी एसियामा यसअघि पनि यस्ता दुखद घटनाहरू घटेका छन्। सन् २०२४ मा भियतनाममा बर्ड फ्लुका कारण ४७ वटा बाघ र तीन चितुवाको मृत्यु भएको थियो। त्यसैगरी सन् २००४ मा थाइल्यान्डको चोनबुरी प्रान्तस्थित Sriracha Tiger Zoo मा बर्ड फ्लुको प्रकोप फैलिएपछि १४७ बाघ मरेका वा संक्रमण नियन्त्रणका लागि नष्ट गरिएका थिए।
वन्यजन्तु संरक्षण अधिकारीहरूले यसपटकको मृत्यु संख्या “असामान्य रूपमा उच्च” भएको बताएका छन्। घटनाको वास्तविक कारण पत्ता लगाउन थप परीक्षण र अनुसन्धान जारी छ। यसैबीच, बाँकी बाघहरूको जीवन जोगाउने प्रयास अहिले सबैभन्दा ठूलो प्राथमिकता बनेको छ।