AgriVet Sanchar

आयात घटाउन ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्न सरकारको आग्रह

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारले निर्धारण गरेका ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्न नेपाली औषधि उद्योगहरूलाई आह्वान गरेको छ।

ललितपुरमा स्वास्थ्य पत्रकार मञ्च नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. चुमनलाल दासले स्वदेशी उद्योगहरूले सामाजिक उत्तरदायित्वको भावनासहित औषधि उत्पादन बढाउनुपर्ने बताएका हुन्। उनका अनुसार हाल नेपालमा उत्पादन हुने औषधिले कुल आवश्यकताको करिब ४०–५० प्रतिशत मात्र पूर्ति गरिरहेको छ। त्यसैले उद्योगहरूले आफ्नो क्षमता विस्तार गरेर आयातित औषधिलाई क्रमशः प्रतिस्थापन गर्नुपर्नेमा उनले जोड दिए।

दासका अनुसार सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर खरिद गर्ने नीति लिएको भए पनि औषधिको मूल्य र गुणस्तरमा भने कुनै सम्झौता गर्न नहुने स्पष्ट पारे। उनले भने, सरकारको लक्ष्य सस्तो, गुणस्तरीय र पर्याप्त मात्रामा औषधि उपलब्ध गराउनु हो। पहिलो चरणमा सरकारले सूचीकृत गरेका ९८ प्रकारका अत्यावश्यक औषधि स्वदेशी उद्योगबाटै उत्पादन होस् भन्ने मन्त्रालयको चाहना रहेको उनले बताए। यसले गाउँ–गाउँसम्म औषधि सहज रूपमा पुर्‍याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

उनले उद्योगीहरूलाई अहिले सीमित संख्यामा औषधि उत्पादन गरेर बस्ने अवस्था पार गर्न आग्रह गर्दै उत्पादन क्षमता बढाउनुपर्ने बताए। बाहिरबाट आयात हुने औषधिलाई प्रतिस्थापन गर्न उद्योगहरूले सक्रिय रूपमा लगानी र विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

दासले सामाजिक उत्तरदायित्वका साथ उचित मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउन सके राज्यले उद्योगहरूलाई पूर्ण सहयोग गर्ने पनि उल्लेख गरे।

उनले नेपाली औषधि उद्योगहरूले उत्पादन गरेका औषधि गुणस्तरीय हुँदाहुँदै पनि बजारमा ‘गुणस्तर कमजोर’ भन्ने भ्रम फैलिएकोप्रति चिन्ता व्यक्त गरे। यस्तो भ्रम हटाउन प्रभावकारी सञ्चार र जनचेतना आवश्यक रहेको उनले बताए।

उनका अनुसार उद्योगीहरूले आफ्ना उत्पादन राम्रो गुणस्तरको भएको दाबी गर्ने र मन्त्रालयले पनि त्यही औषधि खरिद गर्ने भए पनि बाहिर भने सरकारले किनेका औषधि गुणस्तरहीन छन् भन्ने चर्चा फैलने गरेको छ। यस्तो अवस्था किन सिर्जना भइरहेको छ भन्नेबारे सोच्न आवश्यक रहेको उनको भनाइ थियो।

विपद्को समयमा अपनाइने ‘रिस्क कम्युनिकेसन एन्ड कम्युनिटी इन्गेजमेन्ट’ जस्तै मोडल प्रयोग गरेर औषधिको गुणस्तरबारे जनतालाई स्पष्ट जानकारी दिन सकिने उनले बताए। यसरी प्रभावकारी रूपमा जानकारी प्रवाह गर्न सके स्वदेशी औषधिप्रति जनविश्वास बढ्ने र उद्योगहरूलाई पनि फाइदा पुग्ने उनको धारणा थियो।

मन्त्रालयले नेपाली औषधि उद्योगहरूलाई बजारको अभाव नभएको भन्दै उत्पादन विस्तार गर्न पनि आग्रह गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम नै अहिले औषधिको ठूलो उपभोक्ता भएकाले उत्पादन गरिएको औषधि सजिलै खपत हुने दासले बताए।

उनले आन्तरिक माग पूरा गरेपछि थप उत्पादन विदेश निर्यात गर्न सकिने र यसबाट देशको अर्थतन्त्रलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित खबर

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.