राक्सिराङ गाउँपालिका–७ दामराङका ६६ वर्षीय खैरसिंह चेपाङले हालै एकैपटक २० हजार रुपैयाँभन्दा बढीको तरुल बिक्री गरे। उनले खोरिया र कान्लामा उत्पादन गरेको १ सय ४ केजी ‘हलो’ जातको तरुल प्रतिकिलो २ सय रुपैयाँका दरले बिक्री गरेका हुन्। जीवनमै पहिलोपटक तरुल बेचेर यति ठूलो रकम हात परेको भन्दै उनी निकै उत्साहित छन्।
पहिले गाउँलेहरू तरुललाई केवल घरायसी उपभोगका लागि मात्रै प्रयोग गर्थे। तर पछिल्ला केही वर्षयता यसलाई व्यवसायिक रूपमा उत्पादन गर्न थालेपछि यसको महत्व झन् बढेको छ। अहिले तरुल बिक्रीबाटै घर खर्च धान्न सहज भएको स्थानीयहरू बताउँछन्।
यस परिवर्तनको पछाडि नेपाल लिटिल पावर सोसाइटीको पहल महत्वपूर्ण देखिन्छ। संस्थाले चेपाङ समुदायको खाद्य सुरक्षा सुधार र रैथाने बाली संरक्षण गर्ने उद्देश्यले तीन वर्षदेखि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसअन्तर्गत धादिङ र तनहुँबाट ‘हलो’ जातको तरुलको बीउ ल्याएर दामराङ, दाराङ, धिराङ, गर्लिङलगायत गाउँका कृषकलाई वितरण गरिएको थियो।
दाराङका सोमलाल चेपाङले पनि आफ्नो परिवारले उपभोग गरेर बचेको ७० किलोभन्दा बढी तरुल बिक्री गरेका छन्। उनले पनि पहिलोपटक तरुलबाट नगद आम्दानी गरेको अनुभव सुनाए। स्थानीय उत्पादन सोसाइटीले नै खरिद गर्ने व्यवस्था भएपछि कृषकहरू खेतीतर्फ आकर्षित भएका हुन्।
संस्थाले खरिद गरेको तरुल पुनः बीउका रूपमा अन्य कृषकलाई वितरण गर्दै आएको छ। हालसम्म ७५ भन्दा बढी कृषकलाई यस्तो बीउ उपलब्ध गराइएको कार्यक्रम संयोजक विशुमान चेपाङले जानकारी दिए। यसले गाउँमै उत्पादन–वितरणको चक्र विकास भएको देखिन्छ।
खैरसिंह चेपाङले करिब १० कठ्ठा जमिनमा तरुल र सखरखण्ड खेती गरेका छन्। उनले अझै केही उत्पादन बिक्री गर्न बाँकी रहेको बताए। यसरी जरेबाली खेती विस्तार हुँदै जाँदा स्थानीय स्तरमा आयआर्जनका नयाँ सम्भावना खुलिरहेका छन्।
पछिल्ला वर्षहरूमा लोप हुने अवस्थामा पुगेका तरुल, सखरखण्ड, पिडालुजस्ता रैथाने जरेबालीको संरक्षण र प्रवर्द्धनमा पनि यो कार्यक्रमले टेवा पुर्याएको छ। गाउँमै उत्पादन खरिद हुने सुनिश्चितताले कृषकहरूलाई थप हौसला दिएको छ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार जरेबालीले यहाँका किसानलाई दोहोरो फाइदा दिएको छ—एकातिर खाद्य अभाव कम भएको छ भने अर्कोतिर नगद आम्दानी पनि बढेको छ। उनले समुदायलाई परम्परागत बाली संरक्षण र उत्पादन वृद्धिमा सक्रिय बनाइएको बताए।
संस्थाको अध्ययनअनुसार यस क्षेत्रमा पाँचभन्दा बढी प्रजातिका तरुल पाइन्छन्। तीमध्ये ‘हलो’ जात छिटो उत्पादन हुने र स्वादिलो भएकाले लोकप्रिय बनेको छ। यसको उत्पादन विस्तार गरी चेपाङ समुदायको खाद्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने लक्ष्य लिइएको छ।
करिब ४ सय घरधुरी रहेको यस क्षेत्रमा अधिकांश परिवारको बसोबास चेपाङ समुदायकै छ। पहिले आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने अवस्था थियो। तर अहिले तरुलजस्ता जरेबालीको व्यावसायिक खेतीले बिस्तारै जीवनस्तर सुधार हुने संकेत देखिन थालेको छ।